जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सेमिनार गरिने



टोकियो । नेपालको आर्थिक तथा भौतिक विकासमा प्रमुख साझेदार रहँदै आएको जापान सरकार र जापानी नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने व्यवस्थाका लागि पहल शुरु गरिएको छ ।

जापानी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने उद्देश्यले जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र जापान एक्ट्रनल ट्रेड अर्गनाइजेसन (जिट्रो) प्रमुखबीच राजधानी टोकियोमा भएको भेटवार्तामा उक्त पहल गरिएको हो ।

भेटवार्तामा विदेशमा जापानी लगानीकर्ता र व्यवसायीलाई सहयोगी भूमिका निर्वाह गर्दै आएको जिट्रोले नेपालमा कार्यालय स्थापनामार्फत सघाउ पुर्याउने भन्दै दुवै पक्षबाट तत्काल गर्न सकिने कामका बारेमा छलफल भएको नेपाली राजदूतावासले जानकारी दिएको छ ।

हालसम्मको व्यवस्थाअनुसार भ्रमण वा अन्य उद्देश्यले नेपाल गएर मन परेको क्षेत्रमा सोझै आबद्धता जनाउन चाहने जापानी नागरिकलाई पुनः जापान पुगेर जेट्रो कार्यालयसँग सहमति लिनुपर्ने झन्झट हटाउन नेपालमा कार्यालय स्थापनाका लागि जापानी लगानीकर्तालाई तत्कालका लागि नेपालीसँग लगानी साझेदारी गर्न सघाउने संयन्त्रबारे वैकल्पिक उपायबारे पनि दुवै पक्षबीच छलफल भएको थियो ।

लगानी गर्न इच्छुकलाई आधिकारिकता प्रदान गरी सहायता गर्ने जापानको आधिकारिक निकाय जिट्रोका प्रमुख हिरोयुकी इसिगे र नेपाली राजदूत राणाबीच भएको भेटमा लगानी बढाउन नेपालमै जिट्रोको कार्यालय स्थापना गर्ने बिषयमा छलफल भएको छ ।

नेपालको भौतिक तथा औद्योगिक क्षेत्रमा सीमित जापानी लगानीकर्तालाई जिट्रोको कार्यालय स्थापनामार्फत आर्थिक र प्राविधिक क्षेत्रको सबै तहमा पु¥याउन आवश्यक रहेको तर्कसहित नेपाल सरकारका तर्फबाट राजदूतावासले पहल गरेको हो ।

जसअन्तर्गत तत्कालै राजदूतावासले कार्यालय स्थापनाको पूर्वाधारका लागि पहिलो चरणमा जापानी उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका अवसरका बारेमा जानकारी गराउन जापानमा नेपाल इन्भेस्टमेन्ट सेमिनार गर्नेछ ।

राजदूत राणाको पहलस्वरुप भएको भेटमा सेमिनारबाट जापानी व्यवसायी तथा लगानीकर्तालाई सिधै लगानी गर्न आवश्यक सहायताको पहल गर्ने विषयमा पनि छलफल गरिएको उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिए । रासस


क्लिकमान्डु