नेपालमा आकर्षक बन्दै ३५ लाखदेखि अढाई करोडसम्मका एसयूभी मोडलका गाडी



काठमाडौं । देशका अधिकांश सडक कच्ची–पक्की र कच्ची छन् ।

पक्की सडकमा धेरैजसो सेडान र ह्याचब्याक मोडलका गाडी गुडाउनु उपयुक्त मानिन्छ । नेपालका प्रायः बाटा यस्ता गाडी गुडाउन उपयुक्त छैनन् । यहाँका सडकमा जिप मोडलका स्पर्टस् युटिलिटी भेइकल (एसयूभी) लाई नै उपयुक्त मानिन्छ ।

नेपालमा गाडी बिक्री गर्ने सबैजसो कम्पनीले एसयूभी सेगमेन्टका गाडी भित्र्यानेले पनि यसलाई पुष्टि गर्छ । तुलनात्मक रुपमा सेडानका इन्ट्रिलेभल र ह्याचब्याकभन्दा एसयूभी सेगमेन्टका गाडी महँगा हुन्छन् । महंगै भए पनि एसयूभी सेगमेन्टका गाडीप्रतिको आकर्षण बढ्दै गएको छ ।

उपभोक्ताको आकर्षण जिप मोडलतिर तानिएपछि एसयूभी मोडलका नयाँ–नयाँ गाडी भित्र्याउने् गाडी अधिकृत विक्रेता अग्रसर भएका छन् । नेपालमा भारतीय, जापानी, युरोपेली, कोरियाली कम्पनीका गाडी बढी बिक्री हुन्छन् ।

त्यसमा पनि नेपाली उपभोक्ता जिप सेगमेन्टका गाडीमा बढी आकर्षित भएपछि सबै अधिकृत विक्रेताले विभिन्न मोडलका एसयूभी सेगमेन्टका गाडीको बिक्रीलाई प्राथमिकता दिएका छन् ।

नेपालको भौगोलिक अवस्थाअनुसार एसयूभी सेगमेन्टका गाडी उपयुक्त हुने टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका डेपुटी डाइरेक्टर कैलाशराज भण्डारी बताउँछन् ।

‘एसयूभी सेगमेन्टका गाडी ‘अफ रोड’ तथा ‘अन रोड’ दुवैमा सहजै गुडाउन सकिन्छ,’ उनी भन्छन, ‘नेपालको बाटो पक्कीभन्दा कच्ची धेरै भएकाले यो सेगमेन्टका गाडी चढ्नेको संख्या बढ्दै गएको छ ।’

उनका अनुसार अन्य सेगमेन्टका गाडीको तुलनामा एसयूभी सेगमेन्टका गाडीको इन्जिन क्षमतासमेत उच्च हुन्छ । राजधानीकेन्द्रित बसाइ भए पनि अधिकांश मानिस राजधानीबाहिरका छन् ।

उनीहरुले आफ्नो आयस्तर वृद्धि भएसँगै गाडी चढ्ने चाहना राख्छन् । पक्कीसँगै धेरैजसो कच्ची रोडमा गुड्नुपर्ने भएकाले बाहिरका उपभोक्ताले एसयूभी सेगमेन्टका गाडी रोज्ने गरेको सुवारु गाडीको नेपालका लागि आधिकारिक विक्रेता विजय मोटर्सका जीएम रवीन्द्र राउतको बुझाइ छ ।

‘सुवारु गाडीको एसयूभी सेगमेन्ट उत्कृष्ट छ,’ उनले भने, ‘यसमा बक्सर इन्जिन प्रयोग भएकाले सुवारुका एसयूभी गाडी हिउँमा पनि गुडाउन सकिन्छ ।’

नेपाली बजारमा ३५ लाख रुपयाँदेखि २ करोड ५० लाख रुपयाँसम्मका एसयूभी सेगमेन्टका गाडीहरु बिक्री भइरहेको विक्रेताहरु बताउँछन् ।
नेपालमा गाडी चढ्नेको संख्या वृद्धि भएसँगै सडक पनि साँघुरिँदै गएका छन् ।

यसले पनि उपभोक्ता सुरक्षित गाडी चढ्नमै बढी केन्द्रित भएको पाइन्छ । अन्य सेगमेन्टका गाडीको तुलनामा एसयूभी सेगमेन्टका गाडी सुरक्षित हुने विक्रेताहरूको दाबी पनि छ । त्यसैले पनि पछिल्लो समय जिप सेगमेन्टका गाडी चढ्नेको संख्या ह्वात्तै बढेको छ ।

नेपालको धेरैजसो भूभाग पहाडी र अप्ठ्यारो भएकाले त्यस्ता ठाउँहरुका सडक बढी कच्ची तथा बिग्रिएका हुन्छन् । त्यस्ता ठाउँमा जिप मोडलका गाडी सहजै जाने भएकाले नेपाली उपभोक्तामाझ एसयूभी गाडीको लोकप्रियता बढ्दै गएको हो ।

नेपाली गाडी उपभोक्ताले जिप मोडलतिर आकर्षित हुनुलाई पनि बाटो सुहाउँदो गाडी रोजेको रुपमा लिन सकिन्छ । अधिकृत विक्रेताहरुबीच पनि नयाँ–नयाँ मोडलमा जिप सेगमेन्टका गाडी भित्र्याउने होड नै चलेको छ ।

२ दशकअघि जापानी गाडीमात्र नेपालमा जिप सेगमेन्टमा बिक्री हुने गरेका थिए । तर, पछिल्लो समय भारतीय, कोरियाली कम्पनीले उत्पादन गरेका त्यस्ता गाडी बढी मात्रामा बिक्रीका लागि सो रुमहरुमा राखेको देख्न पाइन्छ ।

हाल जापानी गाडी टोयटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले रेभफोर, फरच्युनरलगायतका जिप सेगमेन्टका गाडी बिक्री गरिरहेको छ, जसको मूल्य ९२ लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्म छ ।

त्यस्तै, सम्पूर्ण जिप सेगमेन्टमात्र बिक्री गरिरहेको मित्सुबिसीका एएसएक्स र पजेरोका मोडल बिक्री भइरहेका छन् । त्यस्तै, विजय मोटर्स प्रालिको बिक्रीमा रहेको सुवारु गाडीका ३ मोडल जिप सेगमेन्टमा छन् । सुवारुका फरेस्टर र एक्सभी क्रसटेक छन् । सुवारुका एसयूभी गाडी ९५ लाखदेखि १ करोड १० लाख रुपैयाँसम्मका छन् ।

त्यस्तै, लक्ष्मी समूहको लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले हुन्डाईको जिप सेगमेन्टअन्तर्गत टकसन र स्यान्टा फे को बिक्री गर्दै आएको छ । टकसनको मूल्य ८१ लाखदेखि ९१ लाख रुपैयाँसम्म छ । भने स्यान्टा फे मोडलका गाडीको मूल्य १ करोड २२ लाखदेखि १ करोड २८ लाख रुपैयाँसम्म छ ।

कन्टिनेन्टल एसोसिएट्स प्रालिले पनि जिप सेगमेन्टअन्तर्गत कियाको सोरेटो र स्र्पोटेज मोडलको गाडी बिक्री गर्दै आएको छ । स्र्पोटेज गाडीको मूल्य ७५ लाखदेखि ९६ लाख रुपैयाँ छ भने किया सोरेटोको मूल्य १ करोड २५ लाख रुपैयाँ छ ।

त्यस्तैगरी, अग्नि इनकर्पोरेटेड प्रालीको बिक्रीमा रहेका महिन्द्रा गाडीले पनि विभिन्न मोडलका जिप सेगमेन्टका गाडी बिक्री गर्दै आएको छ । जसमा स्करपियोको मुल्य ३८ लाख देखि ५९ लाख रुपैयाँसम्म रहेको छ ।

दुगड ब्रदर्स एन्ड सन्सको बिक्रीमा रहेको निशान गाडीको पनि एक्स ट्रेल मोडल बिक्री भइरहेको छ । जसको बजार १ करोड १५ लाख देखि १ करोड २२ लाख रुपैयाँ सम्म रहेको छ ।

धेरै सेगमेन्टमा गाडी बिक्री गर्दै आएको टाटाको नेपालस्थित अधिकृत विक्रेता सिप्रदी ट्रेडर्सले पनि टाटा सुमो र टाटा सफारी मोडलको गाडी जिप सेगमेन्टअन्तर्गत बिक्री गरिरहेको छ ।


क्लिकमान्डु