भरतपुर १९ का मतदाता मतदान गर्न लाइनमा



काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१९ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्ने भए पनि बिहानैदेखि मत हाल्न मतदाताहरु लाइनमा लागेका छन् ।

पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतपत्र च्यातिएपछि विवाद भएको थियो ।

निर्वाचन आयोगले पुनः मतदान गर्न निर्णय गरेसँगै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले आयोगको निर्णय सदर गर्दै फैसला गरेपछि शुक्रबार पुनः निर्वाचन हुन लागेको हो । कूल ३ हजार ७ सय ९७ मतदाताले ३ मतदानस्थलका ६ वटा मतदान केन्द्रबाट आज मतदान गर्दैै छन् ।

मतदानलाई सफल पार्न मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा माओवादी–कांग्रेस गठबन्धनबाट रेणु दाहाल मेयरकी उम्मेदवार छिन् भने एमालेले देवी ज्ञवालीलाई अघि सारेको छ ।


क्लिकमान्डु