चीनबाट सिमेन्टमा लगानी गर्न आएको हंसीले पाउने भयो विशेष सुविधा



काठमाडौं । चीनबाट सिमेन्टमा आएको सबैभन्दा ठूलो लगानी हंसी शिवम सिमेन्ट प्रालिसँग लगानी बोर्डले परियोजना लगानी सम्झौता (पिआईए) गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले हंसीले शिवम सिमेन्ट प्रालिसँग भदौ १९ भित्र पिआईए गर्ने भएको हो ।

बोर्डले बैठक पछि जारी गरेको विज्ञप्तीमा पिआईएपछि हंसीले शिवम सिमेन्टले लगानी बोर्डबाट सबै सुविधा पाउने छ । नेपालमा पहिलो पटक यस्तो सम्झौता हुन लागेको हो ।

‘यो सम्झौता अनुसार लगानीकर्तालाई सुरक्षा प्रदान गर्नुका साथ सरकारी निकायबाट पाउने सबै सुविधा र आवश्यक सहयोग लगानी बोर्डबाट पाउने छ’बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नेपालको सिमेन्ट उद्योगमा अहिलेसम्मकै ठूलो लगानीमा शिवम सिमेन्ट र चीनको हंसी ग्रुपले लगानी गर्न लागेका हुन् । लगानी बोर्डले हंसीलाई विदेशी लगानी भित्राउन अनुमति दिएपछि नवलपरासीमा उद्योग स्थापनाको काम भइरहेको छ । नेपालको शिवम सिमेन्टको ३० प्रतिशत र हंशीको ७० प्रतिशत लगानी हुने छ । हंशीले यहाँ २५ अर्ब रुपैयाँ लगानी गर्ने छ ।

उद्योगको उत्पादन क्षमता १२ हजार टन रहेको छ । जुन नेपालका सिमेन्ट उद्योगको अहिलेसम्मकै सबैभन्दा बढी उत्पादन क्षमता हो । उद्योगमा १ हजारभन्दा बढी व्यत्तिले प्रत्यक्ष रोजगारी पाउने छन् ।

लगानी बोर्डको बैठकले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि आयोजना विकास सम्झौता अनुसार बन क्षेत्र उपयोग गर्न तत्काल प्रक्रिया अगाडि बढाउने काम गरेको छ । बन क्षेत्रबाट लगानीमैत्री हुने काम अगाडि बढाउन पनि बन मन्त्रालयलाई निर्देशन दिएको जनाएको छ ।

रसायनिक मल उत्पादन कारखाना निर्माणको लागि अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापनको लागि निजी क्षेत्रको भेन्चर वेस्ट इनर्जी प्रालिलाई २० वर्षसम्म आयोजनामा लगानी गर्न दिने सम्झौता गरेको छ ।

अरुण ३ को पहुचमार्ग निर्माणको लागि आवश्यक पर्ने मुआब्जा रकम पनि दिने निर्णय बोर्डले गरेको छ ।

बोर्डको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई कुनै अड्चन बिना सुविधा दिने काम गर्न निर्देशन दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्ड अन्तर्गत भएका परियोजनाको बारेमा जानकारी गराएका थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक बोर्ड बैठक बसेको हो । बोर्डको अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ ।


क्लिकमान्डु