६ वटा नयाँ जीबन बीमा कम्पनीले लिए लाइसेन्स, सबैमा प्रमोटरको ७० प्रतिशत लगानी




काठमाडौं । हालै अनुमति पाएका १० वटा नयाँ जीबन बीमा कम्पनीमध्ये ६ वटाले बीमा समितिबाट लाइसेन्स लगेका छन् । ३ वटा कम्पनीले असार तेस्रो साता नै समितिबाट लाइसेन्स लगेका भएपनि बाँकी ३ वटा कम्पनीले पनि बुधबार (आज) लाइसेन्स पाएका हुन् ।

समिति स्रोतले दिएको जानकारी अनुसार सन लाइफ, रिलायन्स लाइफ र रिलायबल लाइफ इन्स्यारेन्सले आज लाइसेन्स पाउँदैछन् ।

गत असार २० गते आइएमइ, युनियन र ज्योति लाइफ इन्स्यारेन्स कम्पनीले लाइसेन्स पाएका थिए ।

बीमा समितिको सिफारिसमा अर्थमन्त्रालयले जीबन बीमा कम्पनीको लाइसेन्स दिने कानुनी ब्यवस्था छ । सोही ब्यवस्था अनुसार १० नयाँ कम्पनीले जीबन बीमा ब्यवसाय गर्ने अनुमति पाएका थिए ।

यसरी अनुमति पाएका कम्पनीहरुले संस्थापकहरुको तर्फबाट बुझाउनु पर्ने चुक्ता पुँजी बैंकमा जम्मा गरेको प्रमाण पेश गरेपछि समितिले लाइसेन्स दिएको हो ।

संचालन अनुमति पाएका सबै बीमा कम्पनीहरुमा समितिले ७० प्रतिशत पुँजी प्रमोटरले लगानी गर्नुपर्ने ब्यवस्था गरेको छ । ऐनमा ५१ प्रतिशत लगानी संस्थापकको हुँदा पनि हुने ब्यवस्था भएपनि संस्थापकको लगानी बढी होस् भनेर समितिले प्रमोटरलाई ७० प्रतिशत पुँजी हाल्न अघोषित रुपमा बाध्य बनाएको हो ।

समितिले लाइसेन्स लिएका नयाँ कम्पनीहरुलाई २० करोड रुपैयाँ वर्किङ क्यापिटल दिएर बाँकी रकम कम्पनीको बैंक खातामा एयरमार्क गरेर जम्मा गराएको छ ।

समितिले हालै जारी गरेको नयाँ निर्देशिका अनुसार जीबन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनै पर्छ । जसअनुसार प्रमोटरले ७० प्रतिशत सेयर लगानी गर्दा प्रमोटरहरुले कम्तिमा पनि १ अर्ब ४० करोड रुपैयाँ कम्पनीको बैंक खातामा जम्मा पार्नुपर्ने हुन्छ ।

लाइसेन्स लिएका कम्पनीहरुले प्रमोटरको तर्फबाट बैंकमा जम्मा पार्नुपर्ने कम्तिमा १ अर्ब ४० करोड रुपैयाँमध्ये २० करोड रुपैयाँ वर्किङ क्यापिटलको रुपमा चलाउन पाउने र बाँकी १ अर्ब २० करोड रुपैयाँ कम्पनीको खातामा जम्मा गरेर एयरमार्क गरेर राखेको प्रमाण पेश गरेका समिति स्रोतले जानकारी दियो ।


क्लिकमान्डु