ऊर्जा क्षेत्रमा लगानी गर्न अमेरिका इच्छुक



काठमाडौं । अमेरिकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको छ । अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजले आज ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई भेटी आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको बताए ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदुत गोञ्जालेजले अपर कर्णाली परियोजना र अरुण तेस्रो परियोजनाको बारेमा पनि चासो व्यक्त गरेका थिए ।

उनले यी परियोजनाहरु अहिलेसम्म बन्न नसक्नुको कारणबारे ऊर्जा मन्त्री शाहीसंग जिज्ञासा राखे । जवाफमा ऊर्जामन्त्री शाहीले नेपालमा झोलामा खोला बोकेर दलाल र माफियाहरुले काम नगरिरहेकाले यस्ता समस्याहरु सृजना भएको बताए ।

उनले अपर कर्णाली र अरुण तेस्रो परियोजना जस्ता आयोजनाहरु समयमै संचालन गर्न नसक्नुमा निमार्ण कम्पनीहरुले ढिलासुस्ती गरिरहेको भन्दै उनीहरुले समयमै काम संचालन गर्न नसक्ने हुन भने सम्झौता रद्ध गर्ने तयारी गरिएको बताए ।

ऊर्जामन्त्री शाहीले समयमै काम नगर्ने कम्पनीहरुसँग एकपटक छलफल गरि समयावधि तोक्ने र समयाधिभित्र काम नगर्ने कम्पनिको लाईसेन्स समेत खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने बताए ।


पुष्प दुलाल