एक महिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाई अभियान सकियो



काठमाडौं । एक महिनाअघि सुरु भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा सरसफाई अभियानको आज समापन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएले सुरु गरेको उक्त अभियान एक महिनापछि आज रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम आयोजना गरी समापन भएको हो । समापन कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्ट, सफाई अभियन्ता खेम शर्मा र पत्रकार ऋषि धमला लगायतको उपस्थिति थियो ।

एनआरएनएले एक महिनासम्म बिमानस्थलको आधुनिक तथा गुणस्तरिय सरसफाई गरी पर्यटकको आगमनलाई सहज बनाउनका लागि अतिथि देवो भव अभियान अन्तर्गत सरसफाइ अभियान सुरु गरेको थियो ।

एनआरएनएका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भवन भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबाट हस्ताक्षरित सहमति बमोजिम आज भन्दा एक महिना अघि अर्थात जुलाई १ मा सरसफाई अभियान सुरु भएको थियो । संस्थाले विमानस्थल कार्यालयलाई सरसफाई सामाग्री तथा प्रविधिहरु समेत हस्तान्तरण गरेको छ।

एक महिनाको अवधिमा विमानस्थलको मुहार नै परिवर्तन भएको थियो ।

समापन कार्यक्रममा उक्त अभियानमा खटिने स्वयमसेवक, कर्मचारी तथा प्राविधिकहरुलाई संयुक्त रुपमा खादा, माला लगाएर बरिष्ठ उपाध्यक्ष भट्टले सम्मान गरेका हुन् ।

कार्यक्रममा एनआरएनए बरिष्ठ उपाध्यक्ष भट्टले नेपालको प्रवेशद्वार नै विमानस्थल भएकोले यसको सरसफाई सबैको जिम्मेवारीभित्र पर्ने बताउँदै यो एक महिनामा विमानस्थलको मुहार साँच्चिकै परिवर्तन भएको आफूले पाएको बताए ।

उनले भने,‘विदेशमा हुँदा मलाई ठूलो कौतुहलता थियो, सफाई अभियानपछि विमानस्थल कस्तो भयो होला भनेर, आज म विमानस्थलमा ओर्लिनेवित्तिकै एक चरण सरर निरिक्षण गरेको त, विमानस्थल साँच्चिकै चम्किएछ, सबै टल्किएको देखें, म निकै खुशी छु, काम सानै हो, तर यसले अन्र्तराष्ट्रिय स्तरमा नेपालको राम्रो छवि बनाउन सफल भएको छ, म खेमजी र उहाँको टिमलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु।’

त्यस्तै उनले नेपालले पर्यटन क्षेत्रमा ठूलो प्रगति गर्न सक्ने बताउँदै आगामी दिनमा यो क्षेत्रलाई अझै सशक्त र प्रभावकारी ढंगमा अघि बढाउनुपर्नेमा जोड दिए । भट्टले थपे,‘हामीले पर्यटन क्षेत्रमा ठूलो प्रगति गर्न सक्छौं, यो क्षेलाई सवल बनाउन सकियो भने मुलुकको आर्थिक स्थिति पनि बलियो हुन्छ।’

उनले गैरआवासीय नेपालीहरुबाट नेपालमा लगानीको अलावा सिप हस्तान्तरण गर्नु पनि रहेकोले सोही उद्देश्य अनुसार त्रिभुवन विमानस्थल सफाई कार्यक्रम सुरु गरिएको र आज आएर उक्त अभियाले सार्थकता पाएको बताए ।

उनले थपे,‘स्किल टा«न्फर्मेन्स अनुसार त्रिभुवन अन्र्तराष्ट्रिय सफाई अभियान एउटा नमूना कार्य भएको छ, यसबाट विश्वभरि राम्रो सन्देश प्रवाह भएको छ।’ यद्धपी उनले यो अभियान त एक सुरुवातमात्रै भएको स्पष्ट पारे । उनले भने,‘सफाई धेरै ठाउँमा गर्न बाँकी छ, अर्थमा बाँकी छ, पर्यटनमा छ, वाणिज्यमा छ, राजनीतिमा पनि बाँकी छ।’

विमानस्थल सरसफाई गर्न विगतमा भइरहेका सरसफाईलाई प्रविधिमैत्री बनाउन आफूहरुले सहयोग गरेको बताउँदै भट्टले भने ‘यो कार्यक्रम अब निरन्तर रुपमा चल्छ र विमानस्थल पर्यटनमैत्री हन्छ।’

कार्यक्रममा नागरिक, उड्डयन तथा पर्यटनमन्त्री जितेन्द्र देवद्धारा अभियानले नेपालको त्रिभुनव विमानस्थलको मुहार फेरेको आफूले तस्विरमार्फत थाहा पाएको भन्दै भिडियोमार्फत बधाई तथा धन्यवाद दिएका थिए । त्यस्तै मन्त्री देवले आफूले अभियानमा जस्तोसुकै सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

सफाई अभियानका अभियन्ता एवम् गैर आवासीय नेपाली संघ अष्टे«लियाका नेता खेम शर्माले सबैको साथ र सहयोगबाट अभियान सफल भएको बताउँदै सबैमा धन्यवाद ज्ञापन गरे ।

त्यस्तै उनले आफू लगायत अभियानमा संलग्न भोलुन्टियर्स, प्राविधिकहरुले चार हजार पाँच सय घण्टा श्रमदान गरेको जानकारी दिए । ‘‘सबैको साथ र सहयोगबाट नै यो काम सम्पन्न भयो, म निकै खुशी छु, खासगरी आजको नायकहरु भनेको नै स्वयमसेवक साथीहरु हुनुहुन्छ, उहाँहरुको सहयोगले गर्दा नै आज यो काम सम्भव भएको हो, उनले थपे,‘उहाँहरु नभएको भए हिजोको एयरपोर्ट आजको एयरपोर्ट हुँदैनथियो।’

शर्माले यो एक महिनाको अवधिमा आफूहरुले काठमाडौं सुत्नेवित्तिकै विमानस्थल सफाईमा आफूहरुको जुट्ने गरेको अनुभव सुनाए । त्यस्तै उनले खेम क्निलिक अष्टे«ेलियालाई पनि विशेष धन्यवाद दिए । उनका अनुसार जसका कारण उनले एक महिनासम्म अभियानमा समय दिन सके ।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सफाई अभियानमा सहभागी सबैलाई र खासगरी अभियानका प्रमुख अभियन्ता भवन भट्ट र अभियन्ता खेम शर्मालाई धन्यवाद दिए । उनले भने,‘आज उहाँहरु हामी सबै नेपालीहरुको तर्फबाट अभिनन्दित हुनुभएको छ, म उहाँहरुलाई क्लबको तर्फबाट समेत हार्दिक बधाई दिन चाहन्छु।’

धमलाले एनआरएनले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएकोले आगामी दिनमा आर्थिक, पर्यटनदेखि सिप हस्तान्तरण गर्न समेत विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा अभियानमा सहयोग पुर्याउनेहरुलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै सफाई अभियानमा जुटेका करिब ३० जनालाई बरिष्ठ उपाध्यक्ष भट्टद्धारा सम्मान गरिएको थियो ।


पुष्प दुलाल