मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक सहभागिता



फाइल

काठमाडौँ। प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार काठमाडौंमा यही साउन १ गतेदेखि १५ गतेसम्म १४ हजार ४८१ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराइसकेका छन् ।

नामावली दर्ता गराउनेमध्ये काठमाडौँबाहिरका मतदाता १० हजार ५८९ रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयका अनुसार हालसम्म नामावली दर्ता गराउनेमा पुरुषको संख्या आठ हजार २१, महिला छ हजार ४६२ र तेस्रो लिङ्गी एकजना छन् ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले सातै प्रदेशका ७४४ स्थानीय तहमा आजदेखि यही साउन ३२ गतेसम्म मतदाता नामावली दर्ता गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

“फोटो खिचाउन स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाएका मतदाताको निकै भीड रहेको छ, यस्तो भीड हुन्छ भन्ने कुरा निर्वाचन आयोगले समेत सोचेको थिएन”, क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख चन्द्रप्रसाद गौतमले भने ।

कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य प्रत्येक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले काठमाडौँ जिल्लामा मतदाता नामावली दर्ता गराउन काठमाडौंका काठमाडौँ महानगरपालिकासहित १० वटै नगरपालिकामा फोटोसहितको नामावली दर्ता गराउने व्यवस्था गरेको छ । काठमाडौं महानगरपालिकाको हकमा भने राष्ट्रिय सभा गृह र जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा व्यवस्था गरिएको क्षेत्रीय निर्वाचन प्रमुख गौतमले जानकारी दिए ।

फोटोसहितको नामावली दर्ता गराउन आउने मतदातालाई सहज गराउन कुल ३१ वटा कम्प्यूटरको प्रयोग गरिएको छ । प्रमुख गौतमका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा ११ वटा, राष्ट्रिय सभागृहमा १० वटा र नगरपालिकाहरूमा एक एक वटा कम्प्यूटरको व्यवस्था गरिएको छ ।


क्लिकमान्डु