टाटाको एस हुपर टिपर नेपाली बजारमा



काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा. लि. ले टाटा मोटर्सको एस होपर टिपर नेपाली बजारमा ल्याएको छ । यही साउन १५ गते एक कार्यक्रम बीच गाडी सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले बढ्दो शहरीकरण, जनसंख्याको चाप, पूराना तथा सांघुरा सडक गल्लीहरु भएको हाम्रो जस्तो देशमा फोहोरमैला सहज रुपमा संकलन गर्न र व्यवस्थापन गर्न टाटा मोटरको एस होपर टिपर एक मात्र विकल्प भएको दाबी गरे ।

कार्यक्रममा फोहोर मैला व्यवस्थापन संघका पदाधिकारीलगायत टाटा मोटर्स प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्षले नेपाली बजारमा ठेला गाडामा फोहोर उठाउने गरेको र यो साह्रै कष्टकर रहेको हुदा यसको आधुनिक विकल्पको रुपमा हुपर टिपर आएको र यस्ले काम अझ सहज र छिटो गर्न सकिने जानकारी गराए ।

घर–घर बाट फोहोर संकलन गर्न सकिने र संकलित फोहोरलाई सजिलै लोड अनलोड गर्न मिल्ने १.८ क्यूबीक मिटर क्षमता भएको यस टिपरमा सड्ने र नसड्ने किसिमका फोहोरहरु राख्न दुईवटा छुट्टै कम्पार्टमेन्ट रहेको र सानो साईजको र राम्रो टर्निङ रेडियस भएको गाडी भएकोले शहरका सांघुरा बाटोहरुमा पनि सजिलै गएर फोहोर संकलन गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।

पावर टेक अफ यान्त्रिक व्यवस्था भएको यस टिपरमा चालकलाई प्रयोग गर्न सजिलो हुने गरी बनाईएको छ । संकलित फोहोरलाई ठूलो कम्प्याटर गाडीमा अनलोड गर्न सजिलोको लागि टू बटन रिमोट राखिएकोले संचालन गर्न अझ सजिलो छ । बलियो डिजाईन र मजबुत लिन्केजेसहरु भएको यो गाडीले ८५–९० डिग्रीसम्म ढल्काएर फोहोरमैला अर्को गाडीमा खन्याउन सक्छ ।

संकलित फोहोरमैला गाडीबाट नखसोस र दुर्गन्ध पनि नफैलियोस भनेर दुवै कम्पार्टमेन्टलाई छोपेर बन्द गर्नको लागि गाडीमा रोलिङ कभर पनि राखिएको छ । यसमा भएको हाइड्रोलीक लिफ्टलाई गाडीको च्यासिससँगै बलियोसँग समावेश गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु