वीरगञ्ज नाकाबाट हुने व्यापारमा तीन खर्ब २७ अर्ब रुपैयाँको घाटा



पर्सा। प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट तीन खर्ब ४२ अर्ब ८३ करोड ६३ लाख रुपैयाँको विभिन्न मालसामान नेपाल भित्रिएको थियो ।

नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि १४ अर्ब ९३ करोड २७ लाख रुपैयाँको विभिन्न मालसामान निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । गत आवमा  वीरगञ्ज नाकाबाट निर्यातको तुलनामा तीन खर्ब २७ अर्ब ८० करोड ३६ लाख रुपैयाँ बढीको मालसामान आयात भएको थियो ।

गत आवको आयात निर्यातबीचको व्यापार घाटा २१.९५ गुणा रहेको पोखरेलले बताए। निर्यातमा वृद्धी नगरे व्यापार घाटा अझै बढ्दै जाने उनको भनाइ छ । आव २०७२/७३ को तुलनामा गत आवमा वीरगञ्ज नाकाको व्यापार घाटा ३.१५ गुणाले वृद्धी भएको थियो ।

आव २०७२/७३ मा वीरगञ्ज नाकाबाट एक खर्ब ८१ अर्ब ९ कारोड २२ लाख रुपैयाँको मालसामान आयात भएको तुलनामा ९ अर्ब ४९ करोड ८ लाख रुपैयाँको निर्यात भई व्यपार घाटा १८.८ गुणा रहेको थियो । आव २०७१/७२ मा वीरगञ्ज नाकाको व्यापार घाटा १४.१८ गुणा रहेको थियो ।

आव २०७१/७२ मा सो नाकाबाट तीन खर्ब १२ अर्ब ५२ करोड ५१ लाख रुपैयाँको मालसामान आयात भएको थियो भने २० अर्ब ५८ करोड ६९ लाख रुपैयाँको मालसामान निर्यात भएको भन्सारले जनाएको छ । देशभित्र रहेका उद्योग पूर्ण क्षमतामा सञ्चालन नभएको कारण मुलुकमा परनिर्भता बढ्दै गएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्माले बताए ।

मुलुकभित्र उत्पादन भएका बस्तुभन्दा आयात गर्दा सस्तो पर्ने भएकाले उत्पादकत्व घटदै गएको छ । नेपाली बजार आयातमुखी हुँदै गएको अध्यक्ष शर्माको भनाइ छ । वीरगञ्ज नाका भएर नेपालका लागि ६० प्रतिशत खाद्यान्न, ७० प्रतिशत पेट्रोलिय पदार्थ, ६० प्रतिशत नयाँ सवारी साधन र ७० प्रतिशत औषधि आपूर्ति हुने गरेको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले पहल नगरेको तीन हजारभन्दा बढी उद्योग पूर्णक्षमतामा सञ्चालन हुन नसकेका अध्यक्ष शर्मा बताउँछन ।


क्लिकमान्डु