वडा सदस्य पनि बैंक संचालक बन्न नपाउने नियम संचारमन्त्रीको हकमा लागेन



काठमाडौं । बुधवारदेखि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेत बनेका छन् ।

सिन्धुपालचोकबाट प्रत्यक्ष निर्वाचित सांसद् बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । कांग्रेसले भागबन्डाको आधारमा मन्त्रीको चयन गरेको थियो । कांग्रेसभित्र खुमबहादुर खड्काको कोटाबाट बस्नेत मन्त्री बनेका हुन् ।

बुधवारदेखि संचारमन्त्री बनेका बस्नेतको अर्को परिचय पनि छ । त्यो हो नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको संचालक ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले संबैधानिक पद धारण गरेका ब्यक्तिलाई बैंक संचालक बन्न रोक लगाएको छ ।

बाफियामा सो व्यवस्था हटाउन बैंक संचालक रहेका सांसद्ले निकै चलखेलपनि गरे । तर, विधेयक राष्ट्र बैंकले भने अनुसार पारित भयो ।

राष्ट्र बैंकले केही दिन अगाडि निर्देशिका जारी गर्दै वडा सदस्यसम्मलाई पनि संबैधानिक पद धारण गरेको ब्यक्ति ठहर्याएर बैंक तथा वित्तीय संस्थाको संचालक बन्न रोक लगाएको छ ।

तर, यो व्यवस्था अहिलेको सरकारका सूचना तथा संचारमन्त्री बस्नेतको हकमा भने लागू भएको छैन । संसद्बाट बाफिया पारित भएपछि र राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि सांसद् रहेका बैंक संचालकले संचालक पद छाडेका थिए ।

तर, एनसीसीमा संचालक रहेका बस्नेतले भने बैंक संचालकबाट राजिनामा गरेका छैनन् ।

राष्ट्र बैंकले नियमन गर्दा समस्या भएको भन्दै संबैधानिक पद धारण गरेका ब्यक्तिलाई बैंक संचालक बन्न रोक लगाएको हो ।

बाफिया पारित भएपछि सांसद् रहेका बैंक संचालकहरु सिभिल बैंकका इच्छाराज तामाङ, माछापुच्छ्रे बैंकका डा. विरेन्द्र महतो, जनता बैंकका उदय नेपाली श्रेष्ठ र प्राइम बैंकका उमेश श्रेष्ठले बैंक संचालकबाट राजिनामा दिएका थिए । यी जना सम्बन्धित बैंकको संचालक समिति अध्यक्ष थिए ।

बाफिया संसद्बाट पारित भएको करिब ६ महिना हुन लागेको छ । तर, एनसीसीबाट बस्नेतले भने अहिलेसम्म राजिनामा दिएका छैनन् । राष्ट्र बैंकले समेत राजिनामा गराउने विषयमा केही भनेको छैन ।

बाफिया कार्यान्वयन हुनुभन्दा अगाडि बैंक संचालक भएका सांसद्को हकमा यो व्यवस्था कार्यान्वयन हुने कि नहुँने भन्ने बिबाद थियो । तर, अन्य बैंक संचालक रहेका सांसद्ले नैतिकताको आधारमा राजिनामा दिएपनि बस्नेतले राजिनामा दिएका छैनन् ।

बस्नेतले एनसीसी बैंकमा एनबी ग्रुपको प्रतिनिधित्व गर्छन् । एनबी समूह नेपालमा विवादित व्यवसायिक समूह हो ।


क्लिकमान्डु