अवरुद्ध सिडिएमए मोबाइल सञ्चालनमा



रसुवा। उत्तरी रसुवामा अवरुद्ध भएको सिडिएमए मोबाइल सेवा आज अपराह्नदेखि सञ्चालनमा आएको छ ।

नेपाल टेलिकम रसुवाका प्रमुख जनक डाँगीका अनुसार जंगलको झाडीले रिपिटर टावरमा असर पुर्याएपछि झाडी फडानी गरेर धुन्चे र नुवाकोटको फिकुरी टावरसँग सम्बन्ध स्थापित गरेपछि अवरुद्ध उत्तरी रसुवाका सबै सिडिएमए मोबाइल सञ्चालनमा आएको हो । टावरलाई थप व्यवस्थित गर्न काठमाडौँबाट प्राविधिक बोलाइएको छ ।

दुई हप्तादेखि अवरुद्ध मोबाइल सेवा सञ्चालनमा आएसँगै स्थानीय र गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई सुविधा पुगेको बताइएको छ । उक्त क्षेत्रमा करिब १० हजार सिडिएमए मोबाइल सञ्चालनमा रहेको बताइएको छ । रिपिटर टावरको वरिपरि रहेको झाडी फँडानी गर्न लाङटाङ राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको कालिजंग गणले सहयोग गरेको थियो ।

मोबाइल सेवा बन्द हुँदा सो भेकका स्थानीयबासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका थिए ।


क्लिकमान्डु