कांग्रेसबाट को को बन्दैछन् मन्त्री ? (सूचिसहित)



काठमाडौं । सरकार गठन भएको डेढ महिनापछि बुधबार मन्त्रिपरिषद विस्तार हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मन्त्री बन्नेको नाम छनोट गर्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको थियो ।

मंगलबार कांग्रेसले भागबण्डको आधारमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट अम्बिका बस्नेत, मिनबहादुर विश्वकर्मा, अर्जुन जोशी र बीरबहादुर बलायर मन्त्री बन्दैछन् ।

डेढ महिनासम्म सरकार विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको पार्टीभित्र र बाहिरबाट आलोचना भइरहेको थियो ।

त्यसैगरी, रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादब, सञ्जय गौतम, यञबहादुर थापा र राजन केसी मन्त्री हुने भएका हुन् ।

त्यस्तै, खुमबहादुर खड्का समूहबाट मोहन बस्नेत र कृष्ण सिटौला समूहबाट भीमसेन दासप्रधान मन्त्री बन्दैछन् ।

सत्ता साझेदारसँगको भागबण्डामा १३ वटा मन्त्रालय पाएको कांग्रेसले पार्टीभित्र गुटगत आधारमा मन्त्री छानेको हो । जसमध्ये देउवा समूहले ७ वटा, पौडेल समूहले ४ वटा, सिटौला र खड्का समूहले १/१ जना मन्त्री पाएका हुन् ।

नयाँ बन्ने मन्त्रीले कुन मन्त्रालय पाउने भन्ने सहमति भइसके पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै मन्त्रीहरुको मन्त्रालय तोक्नेछन् ।

‘मंगलबार विस्तार हुने भनिए पनि समय अभाबका कारण बुधबारलाई सरेको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘रातभरमा केही नाम थपघट हुन सक्ने संभावना पनि छ ।’

डेढ महिनासम्म सरकार विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको पार्टीभित्र र बाहिरबाट आलोचना भइरहेको थियो ।
प्रमुख सत्तासाझेदार माओवादी केन्द्रले भने यसअघि नै मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।


पुष्प दुलाल