व्यापारीलाई थुन्ने होइन, उनीहरुको कुरा सुन्ने हो- चेम्वर



काठमाडौं । उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डले मंगलबार मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीसँंग सिंहदरवारमा भेटघाट गरी बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको गुनासो गरे ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका सदस्यहरुले बजार अनुगमनपछि व्यापारीहरुलाई थुन्ने होइन, सुन्ने काम गर्नुपर्ने बताए ।

भेटमा चेम्वर अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए ।

‘गल्ती गरे कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर गल्ती नै नगरी थुन्ने काम भने गर्नु हुँंदैन । पहिला उनीहरुको कुरा सुन्नुपर्छ, अनि मात्रै कारबाही प्रक्रिया अगाडि वढाउनुपर्छ ।’

अध्यक्ष श्रेष्ठले हालै प्लाष्टिकको चामल बेचेको आरोपमा एकजना व्यापारीलाई अन्यायमा पारिएको भन्दै कुनै अध्ययन अुनसन्धान नै नगरी कारबाही प्रक्रिया अगाडि वढाइएको गुनासो गरे ।

भेटघाटमा मुख्य सचिव क्षेत्रीले प्रतिनिधिमण्डलले उठाएका विषयप्रति आफू सकारात्मक रहेको बताए ।

भेटघाटमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, द्धितिय उपाध्यक्ष राजेन्द्र मल्ल, सचिवद्धय देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डेलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु