८० अर्ब डाटा एक निजी कम्पनीको नियन्त्रणमा




काठमाडौं । यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयहरूले प्रयोग गर्ने भेइकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) को सफ्टवेयर एक निजी कम्पनीलाई जिम्मा लगाउँदा नेपालीको ८० अर्ब बराबरको डाटा जोखिममा परेको छ ।

फोकश-वान कम्पनीले आव २०६६/०६७ मा एक वर्षमा सफ्टवेयर निर्माण गरी काम सुरु गरेर विभागलाई सफ्टवेयर तथा हार्डवेयर जिम्मा लगाउने सम्झौता भएको थियो ।

फोकश-वानको सफ्टवेयरमार्फत वार्षिक अर्बौको बिलिङ हुने गरेको छ भने विभागका ७० देखि ८० अर्ब भन्दा धेरैको संख्यामा डाटा उक्त कम्पनीकै नियन्त्रणमा रहेको छ । यस्ता कारोबारको आधिकारिक प्रमाणीकरण समेत हुने गरेको छैन ।

आव २०६६/६७ मा सफ्टवेयर निर्माण गरी विभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म नवीकरणकै भरमा छोडिएको छ । यसले गर्दा देशैभरका यातायात व्यवस्था कार्यालयहरुमा दैनिकजसो समस्या आउने गरेको छ । फोकश-वान नामक कम्पनीले एकाउन्टिङसम्बन्धी सबै जिम्मा लिए पनि उसले आफूले पाएको जिम्मेवारी पूरा नगर्दा यस्तो समस्या आएको हो ।

उक्त सम्झौतामा फोकश-वानले विभागका कर्मचारीहरूलाई उक्त सफ्टवेयर चलाउनसक्ने गरी दक्ष बनाइदिने समेत उल्लेख थियो । तर विभागले ८ वर्षसम्म न त फोकश-वानलाई आफ्ना कर्मचारीलाई सफ्टवेयरसँग अभ्यस्त गराई बुझाऊ भन्यो न त फोकश-वानले नै बुझाउन चाह्यो । त्यसको परिणाम अहिले विभाग मातहतका अञ्चल यातायात कार्यालयहरूरुले भोग्दै आएका छन् ।

सर्भरमा समस्या देखिएको जानकारी विभिन्न कार्यालयबाट आइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई पनि स्वीकार गर्छन् । ‘फोकश-वानले बिल भुक्तानी नपाएको भन्ने कुरा गलत हो,’ उनले भने, ‘उक्त कम्पनीले आफूले लिएको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन ।’

सरकारकै लगानीमा सफ्टवेयर निर्माण गरिएको तर विभागले उक्त सफ्टवेयर आफैं लिएर सञ्चालन गर्नेबारे चासो नदेखाएको फोकश-वानको दावी छ । फोकश-वानको सफ्टवेयरमा समस्या देखिएकाले कार्यालयका दैनिक काम अवरोध आएको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु