मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै- डा.महत



काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन ।

‘स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो, बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्  विस्तारको आन्तरिक गृहकार्य सकेको र पार्टीको जारी केन्द्रीय समिति बैठक सकिनासाथ नेपाली काँग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहेको डा.महतले जानकारी दिए।

नेता डा.महतले हाल सञ्चारमा आएजस्तो कुनै आन्तरिक या अन्य विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको पनि स्पष्ट गरे ।

‘प्रधानमन्त्रीले तयारी गरिसक्नुभएको छ, केन्द्रीय समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ, यसमा अन्यथा मान्नुपर्ने केही छैन,’ उनले भने ।

केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकोले बैठक आजै वा भोलिसम्ममा सकिने पनि उनले जानकारी दिए ।


क्लिकमाण्डू