एक बर्षमै आए २२ अर्ब रूपैयाँभन्दा बढीका मोबाइल, एउटाको मूल्य ४ हजारभन्दा कम !




काठमाडौं । आर्थिक वर्ष २०७३।७४ मा करिब २२ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन सेटहरु भन्सार हुँदै नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार करिब ६० लाख वटा मोबाइल फोन सेटहरु भन्सार हुँदै भित्रिएका छन् ।

विभिन्न कम्पनीहरुले गत आवमा कुल ५९ लाख ५४ हजार ५ सय ३८ वटा सेल्यूलर नेटवर्क वा वायरलेस नेटवर्कका लागि प्रयोग हुने टेलिफोन सेटहरु भित्रिएका हुन् ।

तथ्यांकअनुसार गत आवमा करिब २२ अर्ब ६६ करोड १७ लाख ४८ हजार रुपैयाँ बराबरको मोबाइल फोनहरु आयात भएको हो । सो परिमाणको मोबाइल सेटबाट आयात शुल्क, मूल्य अभिवृद्धि कर र भन्सार शुल्क बराबर सरकारले २ अर्ब ९४ करोड ६८ लाख ८० हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

यो तथ्यांकले नेपालीहरु बढी मात्रामा सस्तो मूल्यका मोबाइल सेटहरु बोक्न रुचाउँछन् भन्ने पुष्टी गर्छ । आयात भएका कूल मोबाइल सेटको मूल्यलाई कूल संख्याले भाग गर्दा औसतमा प्रतिसेट ४ हजार रुपैयाँभन्दा पनि कम अर्थात प्रतिसेट मूल्य ३ हजार ८ सय ५ रुपैयाँ हुन आउँछ ।

नेपालमा भित्रने अधिकांश मोबाइल फोनहरु भन्सारको यहि कोड नाम, बिवरणमा भित्रने गरेका छन् ।

त्यसैगरी कर्डलेस ह्याण्डसेटसहितका लाइन टेलिफोन सेटहरु पनि ७४ हजार ५ सय ५१ वटा आयात भएको छ ।

मोबाइल फोनसेटहरुको तुलनामा ल्याण्डलाइन टेलिफोन सेटहरुको आयात निकै कम रहेको देखिएको छ । सो अवधिमा ५ करोड ५० लाख ७ हजार रुपैयाँ बराबरको टेलिफोन सेट आयात भएको छ । सो आयातबाट सरकारले विभिन्न शुल्कमा ६५ लाख ६४ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।

तथ्यांकअनुसार अन्य प्रकारका टेलिफोन सेटहरु ९ करोड ५६ लाख ५६ हजार रुपैयाँ बराबरको १ लाख ९६ हजार ५ सय १२ वटा आयात गरिएको छ ।

गत आवमा टेलिफोन तथा मोबाइल सेवा प्रदायक कम्पनीहरुले ६ हजार ८ सय ३० वटा बेस स्टेसन पनि आयात गरेका छन् । तथ्यांकअनुसार २ अर्ब ९ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको बेस स्टेसन आयात भएको छ ।


क्लिकमान्डु