गत बर्ष नेपालले ९ खर्ब रूपैयाँको घाटाको ब्यापार गर्यो



काठमाडौं । आर्थिक वर्ष २०७३/२०७४ मा नेपालको व्यापार घाटा ९ खर्ब रुपैयाँ भन्दा बढि भएको तथ्यांक सार्वजनिक भएको छ ।

सरकारी तथ्यांकअनुसार नेपालको गत आवको व्यापार घाटामा अघिल्लो आवको तुलनामा २९.०९ प्रतिशतको वृद्धि हुँदै ९ खर्ब ९ अर्ब ३५ लाख ५१ लाख ५२ हजार रुपैयाँले बढेको हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको कुल व्यापार घाटा अघिल्लो वर्षको तुलनामा २ खर्ब ४ अर्ब ८९ करोड ७० लाख ४० हजार रुपैयाले बढेको छ ।

तथ्यांकअनुसार आयात र निर्यातको रेसियो भिन्नता पनि वृद्धि हुँदै गएृको छ । अघिल्लो वर्ष आयात र निर्यातको तुलनात्मक रेसियो ११ प्रतिशत भएकोमा गत आवमा यो १९.४३ प्रतिशतले बढेर १३.२ प्रतिशत पुगेको छ । यसको अर्थ नेपालले गर्ने निर्यातको तुलनामा आयात व्यापार १३.२ गुणाले बढि भएको छ ।

तथ्यांकअनुसार मुलुकको कुल व्यापार १० खर्ब ५८ अर्ब ७८ करोड ४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यसअघि आव २०७२ । २०७३ मा मुलुकको कुल व्यापार ८ खर्ब, ४४ अर्ब, ९६ करोड, ६४ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

कुल व्यापारको आधारमा हेर्दा नेपालको निर्यात शेयर अघिल्लो वर्षको तुलनामा १५.०९ प्रतिशतले घटेर ७.१ प्रतिशतमा आएको छ । अघिल्लो वर्ष यस्तो दर ८.३ प्रतिशत रहेको थियो ।

त्यसैगरी कुल व्यापारको आधारमा हेर्दा आयातको दरमा १.३७ प्रतिशतको दरले बढेर ९२.९ प्रतिशत पुगेको छ ।

प्रमुख पाँच आयातीत वस्तुहरु
नेपालले गत आव २०७३/७४ मा आयातीत प्रमुख पाँच वस्तुहरुको सूचीमा मिनरल फ्यूल, बिटुमीन, मिनरल्स आइल्स रहेको तथ्यांकमा देखिन्छ । सो आवमा १ खर्ब ४० अर्ब ४ करोड ९४ लाख ३९ हजार रुपैयाँ बराबरको मिनरल फ्यूल, बिटुमीन, मिनरल्स आइल्स वस्तुहरु आयात भएका छन् ।

त्यसैगरी दोस्रो बढि आयात हुने सामाग्रीमा आइरन एण्ड स्टील रहेको छ । यो वस्तु ९३ अर्ब ७१ करोड ४६ लाख ४७ हजार रुपैयाँ बराबरको आइरन एण्ड स्टील आयात भएको छ ।

तेस्रो बढी आयातीत वस्तुहरुको सूचीमा बोईलर्स, न्यूक्लियर रियाक्टर्स, मेसिनरी तथा मेसिनरी एप्लाएन्सेजलगायत रहेको छ । यस्ता सामाग्रीहरु सो आवमा ८२ अर्ब १३ करोड ८९ लाख ४२ हजार रुपैयाँ बराबरको आयात भएको तथ्यांकमा उल्लेख छ ।

चौथो नम्बरमा सवारी साधन तथा त्यसका पार्टपुर्जाहरु रहेको छ। पाँचौं नम्बरमा विद्युतीय उपकरण तथा सामाग्रीहरुको आयातले ओगटेको तथ्यांकले देखाउँछ ।

प्रमुख पाँच निर्यात भएका वस्तुहरु
आव २०७३/०७४ मा नेपालबाट विदेशमा निर्यात भएका प्रमुख वस्तुहरुको सूचीमा पहिलो नम्बरमा कार्पेट तथा अन्य टेक्टाईल फ्लोर वस्तु रहेको छ । सो आवमा यस्ता वस्तुहरु ७ अर्ब ६३ करोड १२ लाख ५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्यसैगरी प्रमुख निर्यात सूचीको दोस्रो नम्बरमा चिया, कफी तथा मसला वस्तु रहेको छ । सो आवमा ७ अर्ब २४ करोड ५६ लाख ३ हजार रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकमा देखिन्छ । निर्यातको तेस्रो नम्बरमा हस्तकलाका सामाग्रीहरु रहेका छन् । यस्ता वस्तुहरु सो आवमा ६ अर्ब ९८ करोड २७ लाख २४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार सो आवमा निर्यात भएका अन्य प्रमुख वस्तुहरुमा गार्मेन्टका सामाग्रीहरु चौथो नम्बरमा रहेको छ भने पाँचौ नम्बरमा तरकारी, फलफुल, सुपारीजन्य उत्पादनहरु निर्यात भएको देखिन्छ ।


क्लिकमान्डु