अब स्कुल बस पहेँलो रंगमा मात्रै, भाडामा लिने स्कुलले पहेँलो नै लिनुपर्ने



काठमाडौं । देशभर संचालन हुने स्कुल बस अव पहेँलो रंगमा देख्न पाइने भएको छ । सरकारले स्कुलहरुले पहेँलो रंगको बस मात्र प्रयोग गर्न पाउने प्रावधान ल्याउन लागेसंगै देशभरका स्कुल बसहरु पहेलो रंगमा मात्र संचालन हुने भएका छन् ।

स्कुलले जथाभावी रंगका सवारी स्कुल बसले प्रयोग गर्दा समस्या उत्पन्न भएको भन्दै सरकारले कडा नियम ल्याएर पहेलो रंगलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।

‘स्कुल बसको हकमा हामीले पहेँलो रंगकै हुनुपर्छ भनेका छौं, जुन कार्यान्वयनमा कडाइका साथ जाँदै छ’ यातायत व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले क्लिकमाण्डुसँग भने ।

विभागले स्कुल संचालकहरु संग छलफल सकेर अहिले यसको निर्देशिका समेत तयार पारेको भट्टराईले जानकारी दिए । ‘सवै स्कुल संचालकहरु पनि एकै रंगको स्कूल बस संचालन गर्न तयार भएका छन्,’ भट्टराईले भने । विभागले चालु वर्ष देखिनै उक्त व्यवस्था कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।

स्कुलको बस संसारभर एकै रंगको हुने गरेको छ । नेपालमा विगत देखिनै स्कुल बस पहेलो रंगमा संचालन गर्ने भनेता पनि कार्यान्वयनमा जान सकेको थिएन ।

भाडाका गाडी प्रयोग गर्ने स्कुलले पनि सवारीको रंग पहेंलो नै राख्नु पर्ने भएको छ । काठमाडौं मात्रै दैनिक हजारौ स्कुल बसहरु संचालन हुने गरेका छन् । सार्वजनिक यातायत भाडामा लिएर समेत स्कुलहरुले सवारी प्रयोग गर्ने बढेपछि सरकारले एकै रंगको व्यवस्था गर्न लागेको हो ।


क्लिकमान्डु