एक कम्पनी जसले ४० वर्षमा १ लाखको सेयरलाई साढे १६ करोड बनाइदियो



सेयर बजारमा कमाउनेका कथाहरु धेरै छन् । केही सिमित कम्पनीले लगानीकर्तालाई यसरी मुनाफा र सम्पत्ती बढाइदिन सक्छन् । विश्वमै आकर्षक प्रतिफल दिने कम्पनीमा मुकेश अम्बानीको रिलायन्सपछि पर्छ । जसले ४० वर्षमा १ लाख भारुको सेयरलाई साढे १६ करोड बनाइदिएको छ ।

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी हुन् । बाबु धिरुभाई अम्बानीले बनाएको रिलायन्स इन्डष्ट्री विरासत मुकेशसँग छ ।

रिलायन्स इन्डष्ट्रीका(आरआइएल) अध्यक्ष मुकेश अम्बानीले सन् १९७७ मा टेक्सटाइल कम्पनीमा स्थापना भएको रिलायन्सले ४० वर्षमा हरेक क्षेत्रमा हजार गुणा बृद्धि गरेको बताए । आरआईएलको वार्षिक साधारणसभा (एजिएम)मा कम्पनीको विकास यात्राको चर्चा गर्दै अम्बानीले पछिल्लो ४० वर्षमा कम्पनीले गरेको उपलब्धी सुनाएका थिए ।

उनले साधारणसभामा सम्बोधन गर्दै आफ्ना पिता स्वर्गिय धिरुभाई अम्बानी र बैठकमा सहभागि आमा कोकिला बेनप्रति आभार प्रकट गरे । मुकेशले धिरुभाई र कोकिलालाई सम्झेपछि हल तालिले गुन्जियो भने कोकिला भावुक बनिन् ।

मुकेश अम्बानीका अनुसार १९७७ मा रिलायन्सको वार्षिक कारोबार ७० करोड भारतीय रुपैयाँ थियो । यो अहिले बढेर ३.३० लाख करोडमा पुगेको छ । ‘जसले सन् १९७७ मा कम्पनीमा १ हजार रुपैयाँ लगानी गरेको थियो,त्योसँग अहिले साढे १६ लाख बराबरको सम्पत्ती छ,’ अम्बानीले भने, ‘यो लगानीकर्ताको पुँजीमा १६ सय गुणा वृद्धि हो।’

अम्बानीका अनुसार पछिल्लो ४० वर्षमा हरक साढे २ वर्षमा सेयर होल्डरको सम्पत्ती दोब्बरले बढेको छ । कम्पनीको मुनाफा पनि १० हजार गुणाले बढेको छ ।

सन् १९७७ मा कम्पनीको मुनाफा ३ करोड थियो । यो अहिले बढेर ३० हजार करोड पुगेको छ ।

‘४ दशकमा रिलायन्स सानो कम्पनीबाट विश्वकै ठूलो कम्पनी भनेको छ,’ अम्बानीले वार्षिक साधारणसभामा भने,‘ ४० वर्षको यात्रामा हाम्रो ३३ करोडको सम्पत्ती बढेर ७ लाख करोड पुगेको छ।’

यस्तै कम्पनीको बजार पुँजीकरण १० करोड रुपैयाँबाट ५० हजार गुणा बढेर ५ लाख करोड भएको छ ।

सन् १९७७ मा टेक्सटाइल मात्र रिलायन्सको उद्योग थियो । त्यो बेला रिलायन्समा साढे ३ हजार जनाले रोजगारी पाएका थिए । २०१७ मा रिलायन्सको व्यवसायको क्षेत्रपनि फैलियो र अहिले विश्वमा साढे  २ लाख व्यक्ति रिलायन्सका विभिन्न कम्पनीमा काम गर्छन् । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु