बीमा कम्पनीको पुँजी बृद्धि योजनाः यो बर्ष नै ९५ करोडको हकप्रद




काठमाडौं । बीमा कम्पनीहरुले चुक्ता पुँजी बृद्धि गर्ने योजना बीमा समितिमा बुझाएका छन् ।

समितिले २०७५ असार मसान्तमा निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा १ अर्ब रुपैयाँ र जीबन बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि कम्पनीहरुले पुँजी बृद्धिको योजना समितिमा बुझाएका हुन् ।

बीमा कम्पनीहरुले पुँजी बृद्धिको आधार हकप्रद र बोनस सेयरलाई लिएका छन् । अर्थात सबै बीमा कम्पनीहरुले सेयरधनीले पैसा थप्ने र नाफाबाटै तोकिएको चुक्ता पुँजी पुर्याउने योजना समितिमा बुझाएका छन् ।

बीमा समितिले दिएको जानकारी अनुसार सबै बीमा कम्पनीहरुले बोनस सेयर दिएर नपुग भएको रकम हकप्रद जारी गरेर पुर्याउने योजना बनाएका छन् ।

चालु आर्थिक बर्षमा निर्जीबन बीमा कम्पनीहरुमध्ये एनबी इन्स्योरेन्सले ४ करोड ८६ लाख रुपैयाँको हकप्रद जारी गर्नेछ ।

यस्तै एनएलजी इन्स्योरेन्सले २९ करोड ५१ लाख रुपैयाँको र नेको इन्स्यारेन्सले २३ करोड ५३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ ।

सो परिमाणको हकप्रद जारी गरेपछि बोनस सेयर दिएकै भरमा एनबी, एनएलजी र नेकोको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्ने कम्पनीहरुले दाबी गरेका छन् ।

हिमालयन जनरल र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले भने पुँजी बृद्धिको योजना समितिमा पेश गरेका छैनन् ।

प्रिमियम, नेपाल इन्स्योरेन्स, ओरियन्टल, नेसनल, राष्ट्रिय बीमा कम्पनी र प्रभु इन्स्योरेन्सले पुँजी बृद्धिको योजना पेश गर्ने समय थप गरिदिन समिति समक्ष अनुरोध गरेका छन् ।

जीबन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षमा नै ४७ करोड ७४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएका छन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड ७४ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २९ करोड रुपैयाँको हकप्रद चालु आर्थिक बर्षभित्र नै जारी गर्ने योजना समितिमा बुझाएका छन् ।

सूर्या लाइफ इन्स्यारेन्सले ८८ करोड ८३ लाख रुपैयाँको एफपिओ जारी गर्ने वा हकप्रद जारी गर्ने तथा बिदेशी कम्पनीसँग समन्वय गरी पुर्याउने योजना समितिमा पेश गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी तोकिए अनुसार पुगिसकेको छ भने प्राइम लाइफले २०६९ सालदेखिको वासलात स्वीकृत भएपछि नाफा र सेयरधनी कोष यकिन हुने र त्यसपछि तोकिए अनुसारको चुक्ता पुँजी पर्याउने समितिमा बुझाएको बिबरणमा उल्लेख छ ।

राष्ट्रिय बीमा संस्थान, नेसनल लाइफ इन्स्योरेन्स र मेट लाइफ (एलिको) ले अझैसम्म पनि समितिमा बिबरण बुझाएका छैनन् ।

बीमा कम्पनीहरुले समितिमा बुझाएको बिबरण अनुसार चालु आर्थिक बर्षमा सबै बीमा कम्पनीहरुले गरेर ९५ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछन् ।


क्लिकमान्डु