स्थानीय तह निर्वाचनमा छ अर्ब रुपैयाँ भन्दा बढी खर्च- आयोग



काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म छ अर्ब ३० करोड ४६ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई १० अर्ब २८ करोड रुपैयाँ रकम उपलब्ध गराएको थियो ।

निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७३/७४ मा खर्च हुन बाँकी रहेको तीन अर्ब रुपैयाँ सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई तीन अर्ब १२ करोड ५१ लाख ९९ हजार रुपैयाँ र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसम्म एक अर्ब ३१ करोड २३ लाख ७० हजार रुपैयाँ निकासा भएको आयोगले जनाएको छ ।

क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई ७६ लाख ७५ हजार रुपैयाँ र गृहमन्त्रालयलाई दुई करोड ६६ लाख ५८ हजार रुपैयाँ निकासा भएको पनि आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म एक अर्ब ५५ करोड ६५ लाख ६० हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

निर्वाचन आयोगको केन्द्रबाट मतपत्र छपाई, मतपेटिका खरिद, मतदाता परिचयपत्र छपाइ, मतदाता शिक्षा, कर्मचारीको भत्ता, तालीम, मसी, ढुवानीलगायतका शीर्षकमा उक्त रकम खर्च भएको थियो ।

स्थानीय तह निर्वाचनका लागि भारतले केही यातायाताका साधन र चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरुप उपलब्ध गराएको थियो । सरकारले निकासा गरेको बजेटमध्ये एक अर्ब २५ करोड ४५ लाख रुपैयाँ बाँकी रहेको आयोगले जनाएको छ ।


क्लिकमान्डु