काठमाडौंमा स्काई रेल चलाउन चीनले सहयोग गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्काई रेल चलाउनका लागि चिनियाँ कम्पनीको सहयोगमा नेपाली कम्पनीले प्रस्ताव गरेको छ । चिनियाँ कम्पनीले काठमाडौंमा स्काई रेल संचालनका लागि आज काठमाडौं महानगरमा प्रस्ताव पेश गरेको हो ।

२०७३ माघ २६ गते महानगर र स्थानीइ साइमिक्स इङ्क प्राइभेटबीच स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययन सम्झौता भएको थियो । इङ्कले चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा स्काई रेल संभाव्यता अध्ययन गरेको हो ।

साइमिक्स इङ्कका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले काठमाडौंका प्रमुख विधासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीसँगको भेटमा स्काई रेलको प्रस्ताव पेश गरेको महानगरले जानकारी दिएको छ ।

कम्पनीको प्रस्ताव बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरका जनप्रतिनिधिसँग सल्लाह गरेर प्रस्तावको विषयमा अगाडि बढ्ने बताए ।

चिनियाँ कम्पनीको प्रतिवेदन अनुसार तिलगंगाबाट, एयरपोर्ट। नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेटहुँदै कलंकीसम्म स्काई रेल संचालन गर्न सकिने छ ।

त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काईरेल संचालन गर्न सकिने कम्पनीले प्रस्ताव गरेको छ ।

चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा स्काई रेल संचालनको सम्भाव्यता अध्ययन भैरहँदा लागत सहितको अन्य विवरण भने विस्तृत परियोजनापछि आउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटरको लिंक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्षको समय लाग्छ । मेट्रो रेलको तुलनामा स्काई रेलको लागत २० प्रतिशत हुने कम्पनीको दाबी छ ।

साथै, रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्न सक्छन् । एउटा रेलमा ८ वटा डिब्बासम्म जोड्न सकिन्छ । तर, महानगरको रेलमा ३ वटा मात्र डिब्बा जोड्न सकिने कम्पनीको प्रारम्भिक अध्ययनले देखाएको छ ।


पुष्प दुलाल