पहिरोका कारण बेनी-जोमसोम सडक पनि राति बन्द हुने
बाबियाचौर। पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ ।
पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठक र यातायात व्यवसायी समितिका प्रतिनिधिको सोमबार बसेको बैठकले गरेको निर्णय बिहीबारदेखि लागू हुने जनाइएको छ ।
यातायात व्यवसायीसँगको छलफलपछि साउन ५ देखि भदौ १५ गतेसम्म बेनी नगरपालिका–९ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ दानाखण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बेनीबाट जोमसोम जाने सवारीसाधनलाई बेलुकी ५ः३० बजेपछि गलेश्वरमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई साँझ ६ बजे भुरुङ तातोपानीमा रोकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए।
दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारीसाधन छुट्नेछन् । मुस्ताङ जाने सवारीसाधन साँझ ५ः३० बजेभित्र गलेश्वरबाट अगाडि र मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै भुरुङ तातोपानीबाट छुट्नुपर्नेछ ।
गलेश्वरदेखि दानासम्मको सडकमा पहिरो र ढुंगा खसिरहने हुँदा दुर्घटनाको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको प्रजिअ, राजुप्रसाद पौडेलले बताए । आपत्कालीन अवस्थाबाहेकको समयमा निर्णय लागू हुने प्रशासनले जनाएको छ ।
केही दिनअघि गुडिरहेको गाडीमा सडकमाथिबाट ढुंगा खसेर चालकलाई चोट लागेको थियो । कालीगण्डकी नदीको किनारै किनार रहेको कच्ची सडकको अधिकांश भाग अक्करे भिरको फेदीमा पर्छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने यो सडक भएर स्थानीयवासीका साथै ठूलो संख्यामा तीर्थयात्री र पर्यटक ओहोरदोहोर गर्छन् । रासस