केवल कारदेखि साइकल सिटीसम्म- काठमाडौं महानगरपालिकाको विकास योजना



काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक जाम र सार्वजनिक सवारीको समस्या न्युनिकरण गर्नका लागि केवल कार र साइकल सिटी निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममार्फत महानगरले सार्वजनिक यातायात व्यवस्थालाई सुधार्नका लागि केवल कार र साइकल सिटीको अवधारणा अगाडि सारेको हो ।

महानगरले सार्वजनिक यातायातको अधिकतम उपयोग गर्नका हाल विश्वव्यापी चलनमा रहेका आधुनिक सुविधायुक्त ठूला बस, बस र्यापिड ट्रान्जिट (बिआरटी), मोनो रेल, सिटी केवल कार, ट्राम र मेट्रो रेलको सम्भावनाको अध्ययन गर्ने नीति तथा कार्यक्रममा राखेको छ ।

केहि समय अघि राजधानीमा भएको एक कार्यक्रममा महानगरका प्रमुख शाक्यले विभिन्न विदेशी कम्पनीले काठमाडौंमा रेल चलाउने प्रस्ताव गरेको जानकारी दिएका थिए ।

‘विदेशी कम्पनीहरु काठमाडौंमा रेल र केबल कार चलाउने प्रस्ताव गरिरहेका छन्, तर, तपाई (नेपाली उद्योगी व्यापारी) हरु किन यस्तो प्रस्ताव ल्याउनु हुन्न्,’ शाक्यले भने, ‘प्रस्ताव ल्याउनुहोस् महानगर लचिलो भएर सहकार्य गर्न तयार छ ।’

साइकल सिटी

महानगरले काठमाडौंलाई साइकल सिटीको रुपमा विकास गर्ने भएको छ । साइकल सिटी बनाउनका लागि बाग्मती नदीको किनारमा पशुपतिदेखि टेकूसम्मको खोला किनार, विष्णूमति नदी किनार, र चक्रपथको ग्रिनवेल्टमा छुट्टै साइकल लेन बनाउने महागरको नगरसभामा प्रस्ताव गरिएको छ ।

सो स्थानमा साइकल लेनको विस्तारसँगै काठमाडौंमा सुरक्षित रुपमा साइकलको सवारी गर्न सकिने महानगरले जनाएको छ ।

स्मार्ट स्ट्रिट साईन र ट्राफिक लाईट

महानगरले आफ्नो नीति तथा नियममा सडक र चोकहरुमा स्मार्ट स्ट्रिट साईन र ट्राफिक साईन राख्ने भएको छ । सो कार्यसँगै काठमाडौंको ट्राफिक जामको समस्यामा उल्लेखनिय सुधार हुने महानगरको अपेक्षा छ ।

स्मार्ट सिटीको रुपमा विकास गर्ने भनिएको महानगरका सडकमा एउटा पनि ट्राफिक लाईट बल्ने गरेका छैनन् । ट्राफिक लाइटको व्यवस्था नभएकाले ट्राफिक प्रहरीको इसाराको भरमा काठमाडौंको यातायात व्यवस्था संचालन हुने गरेको छ । जसका कारण पनि काठमाडौंमा जामको समस्या अधिक हुने गरेको आम जनगुनासो छ ।

हरित सहर

महानगरले आफ्नो योजनामा काठमाडौंलाई हरित सहरको रुपमा विकास गर्ने कुरा पनि उल्लेख गरेको छ । महानगर भित्रका घरको कम्पाउण्ड वाल निर्माण कार्यलाई निरुत्साहित गर्दै हरियाली क्षेत्र बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सो कार्यसँगै काठमाडौंमा हरियाली प्रवद्र्धन र शहर सुन्दर देखिने महानगरको दाबी छ ।


क्लिकमान्डु