एफएनसिसिआई पदाधिकारी र आइएमएफ प्रतिनिधिमण्डल बीच भेट



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासमक्ष अन्तराष्ट्रिय मुद्रा कोषको एशिया प्रशान्त शाखाका उपप्रमुख जेरार्ड जे.आमकिन्डर्सको नेतृत्वमा नेपाल आएको कोषको प्रतिनिधिमण्डलले महासंघ सचिवालय टेकूमा भेटवार्ता गरेको छ ।

सो भेटवार्तामा नेपालको औद्योगिक, वाणिज्य, बैकिङ, कर, श्रम ऐन, कम्पनी ऐन, औद्योगिक व्यवसाय ऐन, लगानीको वातावरण, वैदेशिक लगानीका लागि नेपालले लिएको नीति लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

भेटका क्रममा नेउवामहासंघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघका उपमहासचिव उमाकान्त पराजुली, कोषका अर्थशास्त्री पियापोर्न निक्की सोदस्रीवीबोन, भारत, नेपाल र भुटानका लागि कोषका वरिष्ठ आवासीय प्रतिनिधि एण्ड्रिज बाउर उपस्थित थिए ।

विशेषगरी आर्थिक तथा व्यावसायिक क्षेत्रले गती लिन नसक्नुमा रोजगारदाता र ट्रेड यूनियनहरुको सहकार्य र सहमतिमा अन्तिमरूप दिइएको श्रम तथा सामाजिक सुरक्षा ऐन अहिलेसम्म आउन नसक्नु, उपभोक्ता सुरक्षा सम्बन्धी कानून सरोकारवालाहरूको प्रत्यक्ष सहभागिता एवं छलफल विनानै अगाडी बढाइनु, दशकौं अगाडि भिन्न परिस्थितिमा आएको कालोबजारी ऐन अहिले पनि कार्यान्वयन भैरहनु, बैकिङ तरलता र व्याज दर व्यवस्थापनमा देखिएको अस्थिरता तथा दक्ष जनशक्ति अभाव मुख्य समस्या रहेको सो अवसरमा महासंघका तर्फबाट औल्याइएको थियो ।

नेपालको विकास प्रयासमा सघाउन पाएकोमा खुशी प्रकट गर्दैै नेपालमा सम्पन्न स्थानीय चुनावपछि विकासले गतिलिने आशा कोषले गरेको भन्दै स्थानीय निकायमा स्रोत व्यवस्थापन र खर्च गर्ने क्षमता विस्तारलाई मुख्य ध्यान दिनुपर्ने प्रतिनिधिमण्डलको धारणा रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु