काठमाडौं उपत्यकामा मोनोरेलको जिम्मा मलेसियन कम्पनीलाई



काठमाडौं । काठमाडौं उपत्यकामा मोनोरेलको संभाव्यता अध्ययन र निर्माण गर्ने जिम्मा मलेसियन कम्पनीलाई दिइने भएको छ ।

काठमाडौं र ललितपुर महानगरका मेयर विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनबीच मलेसियन कम्पनीलाई मोनोरेलको संभाव्यता अध्ययन र निर्माण गर्न दिने सहमति भएको हो ।

चीन र मलेसिया लगायतका केही देशका आधादर्जन कम्पनीले उपत्यकामा मोनोरेल बनाउन प्रस्ताब गरेका थिए ।

‘राजधानीलाई मोनोरेलको कनेक्टीभिटीबाट जोड्न काठमाडौं महानगर र ललितपुर महानरबीच सहमति भएको छ,’ ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले क्लिकमाण्डूसँग भने, ‘चाइनिज कम्पनीभन्दा मलेसियन कम्पनी राम्रो र छिटो काम गर्ने भएकाले संभाव्यता अध्ययनदेखि निर्माणसम्म मलेसियन कम्पनीलाई दिने सहमति भएको छ ।’

चुनाबताका काठमाडौंका मेयरका उम्मेद्वार शाक्यले महानगरभित्र मोनोरेल चलाउने घोषणा गरेका थिए । उनी निर्वाचित भएपछि आधादर्जन विदेशी कम्पनीहरुले संभाव्यता अध्ययनदेखि निर्माणसम्म गर्ने भन्दै प्रस्ताब गरेका थिए ।

विदेशी कम्पनीहरुले काठमाडौं महानगरभित्र मात्रै रेल चलाउँदा बजार नपुग्ने भन्दै उपत्यकाभरी नै रेल सञ्जाल गर्नुपर्ने सुझाब दिएका छन् । त्यसैले काठमाडौं र ललितपुरका महानगरका मेयरबीच उपत्यकाका अन्य स्थानीयतहरुमा पनि रेलवे कनेक्टिभिटी जोड्ने सहमति भएको महर्जनले बताए ।

मंगलबार दुई मेयरबीच काठमाडौंको बुढानिलकण्ठदेखि ललितपुरको गोदावारीसम्म रेल सञ्चालन गर्ने सहमति भएको थियो । महर्जनका अनुसार यो रेल सञ्जालको लम्बाई करिब ३० किलोमिटर हुनेछ ।

‘काठमाडौंका अन्य स्थानीय तहलाई काठमाडौं महानगरका मेयरले र ललितपुरका अन्य स्थानीय तहलाई ललितपुर महानगरका मेयरले सहमतिमा ल्याउने र दुबैको मेयरको पहलमा भक्तपुरका स्थानीय तहहरुलाई पनि सहमतिमा ल्याएर उपत्यकालाई रेल सञ्जालले जोड्ने सहमति भएको छ,’ महर्जनले भने ।

विदेशी कम्पनीहरुले भक्तपुरका ठिमी र सूर्यबिनायक लगायतलाई जोड्दा मात्रै रेलका लागि बजार पुग्ने देखिएको बताउँदै आएका छन् ।
केही दिनअघि राजधानीमा भएको एक कार्यक्रममा काठडमौंका मेयर शाक्यले मोनोरेल चलाउन विदेशी कम्पनीहरुले प्रस्ताब गरेको तर नेपाली लगानीकर्ताहरुले चासोसमेत नदेखाएको भन्दै गुनासो गरेका थिए ।

‘हामी उपत्यकामा रेल सञ्चालन गर्न चाहन्छौं, विदेशी कम्पनीहरुले चासो देखाइरहेका छन्, तपाई (नेपाली लगानीकर्ता) हरु पनि चासो अघि बढ्नुहोस्, हामी सहकार्य गर्न तयार छौं,’ शाक्यले भनेका थिए ।


पुष्प दुलाल