गाडी बिक्रेताको खोसाखोस ! निशान लग्यो सारडा ग्रुपले



काठमाडौं । नेपालमा बिक्री बितरण हुँदै आएका विश्व प्रसिद्ध ब्राण्डहरुले आफ्नो आधिकारीक डिलर परिर्वतन गर्न थालेका छन् ।
यसअघिका आधिकारिक विक्रेताबाट उत्पादक कम्पनी असन्तुष्ट भइरहेको र व्यवसाय राम्रो गर्ने देखेपछि नयाँ व्यवसायीक घरानालाई डिलरसीप दिनेकाम भइरहेको छ ।

डेढ दशक देखि दुगड समूहले बिक्री गर्दै आएको निशान गाडी अब सारडा समूहले बिक्री गर्ने भएको छ । भने केही वर्ष यता किशोर गेयरले बिक्री गर्दै आएको पिउजो गाडि गोल्छा समूहले बिक्री गर्ने भएका छन् ।

यसै क्रममा पछिल्लो समय अढाई दशकदेखि जापानी ब्रान्ड निशान बिक्री गर्दै आएको दुगड समूहअन्तर्गतको दुगर्ड ब्रदर्स एन्ड सन्सबाट निशान ब्रान्डको आधिकारिक विक्रेता सारडा समूहले हात पारेको हो ।

अव सारडाको पायोनियर मोटर्सले निशान बिक्री गर्नेछ । यस्तै, किशोर गेयरले बिक्री गर्दै आएको फ्रेन्च ब्रान्ड पिउजो गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले बिक्री गर्ने भएको छ ।

सारडा समूह नयाँ कम्पनीमार्फत निसान मोटरको आधिकारिक विक्रेता नियुक्त भएको समूहका एक सदस्यले जानकारी दिए । उक्त कम्पनीले नक्सालमा आफ्नो शोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

हाल सारडा समुहले पायोनियर मोटर्समार्फत ड्याटसन गाडीको आधिकारिक विक्री गर्दै आएको छ । समूहले यसको औपचारिक पुष्टि गर्न भने अस्वीकार गरेको छ ।

सारडा समूहले ड्याट्सनको बिक्रीमा उत्साहजन नतिजा प्रस्तुत गरेकाले निसानले सारडा समूहलाई रोजेको जनाइएको छ । ड्याट्सन मोटर पनि निसानकै स्वामित्वमा रहेको कम्पनी हो । त्यसैले पनि निसानले एकै समुहमार्फत बिक्रि गर्न चाहेको हुन सक्छ ।

फ्रेन्च गाडी पिउजो भने सांग्रिला मोटर्स प्रालि मार्फत विक्रि हुने निश्चित भएको छ । कम्पनी स्रोतका अनुसार असारभित्रै औपचारिक सार्वजनिकीकरण गर्ने गरी थापाथलीमा सोरुम निर्माण भइरहेको छ ।

हाल गोल्छा अर्गनाइजेसन अन्तर्गतकै जीओ फोर्डले फोर्डका गाडी बिक्री गर्दै आएको छ । यसअघि कन्स्ट्यान्ट बिजनेस ग्रुपले बिक्री गरिरहेको स्याङयोङ हाल आइएमएस अटोमोबाइल्सले बिक्री गरिरहेको छ ।


क्लिकमान्डु