विराटनगर महानगरपालिकाको मेयर बने भीम पराजुली, कुन वडा कसले जित्यो हेर्नुहोस्



विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।

गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा रहेका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी भइन ।

उन्नाइसवटा वडा रहेको विराटनगर महानगरपालिकामा काँग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा गरी सातवटा अध्यक्षलगायत सदस्य पदमा समूहगत रुपमा र वडा नं १९मा काँग्रेसका विद्रोेही समूहले जितेको छ ।

सङ्घीय समाजवादी फोरमले १२, १३, १४, १५,१७ र १८ गरी छवटा वडामा, नेकपा (एमाले)ले २, ५ र ११ गरी तीनवटा वडा र माओवादी केन्द्रले वडा नं ६मा जित हात पारेको छ भने वडा नं १०मा स्वतन्त्रले जित हात पारेको छ ।

उक्त निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि एमालेले नेपाल लोकतान्त्रिक फोरमसँग र सङ्घीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रसँग तालमेल गरेका थियो ।


क्लिकमान्डु