९ जना पत्रकारलाई बाल संबेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार




काठमाडौं । नेपाल पत्रकार महासंघले केन्द्रीय बालकल्याण समितिसँग सहकार्यमा शुक्रबार बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार एक औपचारिक कार्यक्रमकाबीच प्रदान गरेको छ ।

जनही २५ हजार रुपैया राशीको उक्त पुरस्कार उपत्यका र मोफसलका रेडियो, छापा र टेलिभिजनमाध्यम गरी ९ जना पत्रकारलाई प्रदान गरिएको छ । पुरस्कृत पत्रकारहरुमा छापा माध्यमतर्फ रामकला खड्का (उपत्यका—अन्नपूर्ण पोष्ट, काठमाडौं), मुकेश पोखरेल (मोफसल–हिमाल खबर पत्रिका, रुपन्देही), टेलिभिजनतर्फ उपत्यकाबाट सलिना उप्रेति र संस्कृति चालिसे (नयाँ पुस्ता) लाई संयुक्त र कृष्ण अधिकारी (मोफसल, नेपाल टेलिभिजन) लाई प्रदान गरिएको छ ।

यसैगरी रेडियो पत्रकारितार्फत लक्ष्मी बस्नेत (उपत्यका–सामुदायिक सूचना नेटवर्क), चिरञ्जिवी तिमल्सिना (सुमन सुस्केरा) (मोफसल—स्काइ एफएम, विराटनगर) र कार्यक्रम सञ्चालकतर्फ रुपा शर्मा (उपत्यका—मेट्रो एफएम, काठमाडौं) र मनोजकुमार मेहता—(रेडियो पूर्वेली आवाज–मोरङ) लाई प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिदै बालबालिकका विषयमा सबै पत्रकारहरु संवेदनशील हुन आग्रह गरे ।

उनले बालबालिकाका विषयमा सचेत हुन पत्रकार आचारसंहितामा बालबाललिका सम्बन्धी विशेष व्यवस्था गर्नुका साथै निर्देशिकासमेत जारी गरिएको जानकारी दिँदै पुरस्कारले पत्रकारलाई आगामी दिनमा थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले पुरस्कृत हुने पत्रकारको अझ जिम्मेवारी थपएिको हुँदा बालबालिकाका विषयमा थप योगदानको अपेक्षा रहेको बताए । बालबालिकालाई होच्याउने, बेवास्ता गर्ने तथा सार्वजनिक कार्यक्रम र संरचना निर्माण गर्दा उपेक्षा गर्ने प्रवृत्तिको अन्त्यका लागि पनि कलम चलाउन उनले पत्रकारहरुलाई आग्रह गरे ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले पुरस्कृत हुने पत्रकारलाई बधाई दिँदै बालबालिका एकदमै संवदनशील हुनेहँुदा बालबालिकाका विषयमा सबै सचेत हुन आग्रह गर्नु आग्रह गरे ।

बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा सूचना विभागका महानिर्देशक बीरबहादुर राईले पत्रकारितामा शब्दको छनोटले धेरै ठुलो प्रभाव राख्ने हुँदा शब्दसंयोजनमा सबै सचेत रहनसके समाजका सबै व्यक्तिहरुलाई राम्रो हुन बताए । कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठले पुरस्कृत सबै पत्रकारलाई बधाई दिए ।


क्लिकमान्डु