पुरुषले समूहमा राख्न नमानेपछि, छुट्दै महिला समूह मार्फत सडक निर्माण गर्दै



रामेछाप । महिलाले पुरुषसरह काम गर्न सक्दैनन् भनी काममा नलगाएपछि रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ चचुरेका महिला महिलाको मात्रै समूह बनाई काममा लागेका छन् ।

स्थानीय उपभोक्तामार्फत निर्माण भइरहेको चुचुरेको गर्जाङ–खहरे सडकमा पुरुषलेसँगै काम लगाउन नमानेपछि त्यहाँका महिला छुट्टै समूह बनाएर काममा लागेका हुन् ।

सो सडकमा महिला र पुरुषलाई समान कामका लागि समान ज्यालाको नीति कडाइका साथ लागू गरिएपछि पुरुषले महिलालाई काम लगाउन आनाकानी गरिरहेका छन् । पुरुषले महिलासँग काम गर्दा घाटा लाग्छ भन्दै समूहमा राख्न नमाने पछि आफूहरुले महिलामात्रको समूह बनाएर छुट्टै काम गर्न थालेको गोकुलगङ्गा गाउँपालिका–१ चुचुरेकी दीर्गमाया खत्रीले बताए ।

चुचुरेका महिला अहिले पुरुषको आरोपलाई चुनौती दिँदै कम्मर कसेर काममा लागेका छन् । उनीहरु आफैँ ट्र्याक्टरमा ढुङ्गा लोड अनलोड गर्नेदेखि लिएर सोलिङ गर्नेसम्मको काममा लागेका छन् ।

सांसद विकास कोषबाट प्राप्त १० लाख रुपैयाँ बजेटबाट गर्जाङ–खहरे सडक उपभोक्ता समिति बनेपछि अहिले उक्त बाटोमा नियमित महिला काम गरिरहेका छन् ।

६ सय मिटर लामो उक्त सडक स्तरोन्नतिको क्रममा खोलाबाट ढुङ्गा ल्याउनेदेखि फित्ता नाप्ने, खाल्डो पार्ने र ग्राभेल गर्ने कामसमेत महिलाले मात्र गरी रहेको कामदार लक्ष्मी तामाङले बताए।

यसो गर्दा दैनिक ५ सय भन्दा बढी ज्याला पाउने उनको भनाइ छ । अहिले समूहका १० जना महिलाले काम गरिरहेका छन् । महिलाको समूहले गरेको काम प्रभावकारी रहेको चचुरेका प्राविधिक सहायक राजन कार्कीले बताए । रासस


पुष्प दुलाल