काठमाडौँका ६०० स्थानमा जेब्रा क्रसिङ छिट्टै



काठमाडौँ। काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस गर्ने र दिगो प्रभाव पर्ने कामको थालनी गर्न आवश्यक रहेको बताए ।

आइतबार बसेको बैठकमा कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौँका करिब ६०० स्थानमा जेब्रा क्रसिङ राख्ने स्थान पहिचान गरिएको छ ।

पार्किङ व्यवस्थापन गर्न निर्मित समितिले पार्किङको सम्भावनाका विषयमा प्रतिवेदन बुझाइसकेको छ । प्रदूषण जाँच गर्न उपकरण थप गर्ने तयारी भएको छ ।

बैठकमा सडक मर्मत तथा धुलोरहित बनाउने, यातायात क्षेत्रका नियमन तथा व्यवस्थापन गर्न ओभर हेड, फ्लाई ओभर ब्रिज तथा अन्डर पासिङ बनाउने, पार्किङ व्यवस्थापन, ट्राफिक लाइटलगायत विषयमा छलफल गरिएको थियो ।

काठमाडौं उपत्यका खानेपानी लि, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीले यही असार मसान्तभित्र चाबहिलदेखि चुच्चेपाटीसम्मको धुलो र ढलका समस्या समाधान गरिसकिने बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सडक सङ्केत र सवारी अडिने ठाउँको वैज्ञानिक व्यवस्थापन गर्न आग्रह गरे । रासस


पुष्प दुलाल