बाहिरी चक्रपथको कुन-कुन स्थानमा बन्दैछ, ४ वटा फ्लाईओभर र ओभरहेड ब्रिज ?



काठमाडौं । बाहिरी चक्रपथमा ४ वटा फ्लाईओभर र विभिन्न स्थानमा ओभरहेड ब्रिज निर्माण हुने भएको छ । बाहिरी चक्रपथलाई ट्राफिक जामबाट मुक्त बनाउन ४ वटा फ्लाईओभर र ओभरहेड ब्रिज निर्माण गर्न लागिएको हो ।

काठमाडौं उपत्यका भित्र विशेषगरी ४ वटा नाकाबाट सवारी साधन भित्रिने गरेको हुँदा बाहिरी चक्रपथलाई जाममुक्त बनाउन फ्लाईओभर र ओभरहेड ब्रिज निर्माण गर्न लागिएको बाहिरी चक्रपथ निर्माण आयोजनाका शाखा अधिकृत धुब्र सापकोटाले जानकारी दिए ।

बाहिरी चक्रपथमा गुड्ने सवारी साधन फ्लाईओभर र ओभरहेड ब्रिज भएर गुड्ने छन, अन्य सवारी साधन पहिलेकै बाटोबाट गुड्ने छन् ।

‘ती नाकाबाट भित्रिने सवारी साधनका कारण बाहिरी चक्रपथमा गुड्ने गाडीले ट्राफिक जामको सामना गर्नु नपरोस् भनेर फ्लाईओभर र ओभरहेड ब्रिज निर्माण गर्न लागिएको हो,’ अधिकृत सापकोटाले क्लिकमाण्डूसँग भने ।

अहिले पनि काठमाडौं भित्रिने नाकामा सवारी साधनले जामको सामना गर्नु परेको छ । बाहिरी चक्रपथ निर्माण भएपनि बाहिरी चक्रपथमा गुड्ने सवारी साधनले ती नाका क्रस गर्नुपर्ने हुँदा जामको समस्या अहिलेभन्दा डरलाग्दो हुने सापकोटा बताउँछन् ।

‘बाहिरी चक्रपथमा गुड्ने सवारी साधन फ्लाईओभर र ओभरहेड ब्रिज भएर गुड्ने छन, अन्य सवारी साधन पहिलेकै बाटोबाट गुड्ने छन्,’ सापकोटाले भने ।

कहाँ बन्छ फ्लाइओभर ?

फ्लाइओभर काठमाडौं भित्रिने प्रमुख ४ वटा नाकामा निर्माण हुनेछ । काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग र पासाङलाम्हू राजमार्गबाट उपत्यका भित्रने नाकामा निर्माण हुने अधिकृत सापकोटा जानकारी दिन्छन् ।

ओभरहेड ब्रिज कहाँ बन्छ?

ओभरहेड ब्रिज बाहिरी चक्रपथ र उपत्यकाका अन्य सडकको मिलन विन्दुमा निर्माण गरिने योजना रहेको सापकोटा बनाउँछन् ।

नेपालको एकमात्र ओभरहेड ब्रिज काठमाडौंको कलंकीमा हाल निर्माणाधिन अवस्थामा छ ।

बाहिरी चक्रपथआयोजनाले निर्माण गर्ने ४ वटाफ्लाईओभर र ओभरहेड ब्रिज बनाउन नेपालको प्राविधिक र आर्थिक क्षमताले नधान्ने अधिकृत सापकोटाको भनाई छ । उनकाअनुसार यो प्रोजेक्टका लागि चिनियाँ कम्पनीहरुले ईच्छा देखाएका छन् । चिनियाँ कम्पनीलाई फ्लाईओभर र ओभरहेड ब्रिज बनाउन जिम्मा दिईने तयारीमा आयोजना रहेको छ ।

बाहिरी चक्रपथको पहिलो चरणमा ट्रयाक खोल्ने काम भने नेपाल सरकारले गर्ने आयोजनाले जानकारी दियो ।

बाहिरी चक्रपथ आयोजनाले चोभार-सतुङगल खण्डको ६.६ किलोमिटर क्षेत्रलाई पाइलट प्रोजेक्टको रुपमा निर्माण कार्य अगाडि बढाउने तयारी गरिरहेको छ । सो स्थानमा आयोेजनाले ७ हजार ८ सय रोपनी क्षेत्रफलमा भौतिक संरचनायुक्त सहर पनि निर्माण गर्नेछ ।


पुष्प दुलाल