अग्नि नियन्त्रण एवम् उद्धार तालिम



भक्तपुर। आगलागी हुँदा दमकल आउनुपूर्व नै आगो नियन्त्रण एवम् उद्धारका कार्य छिटो हुन सकुन्् भन्ने उद्देश्यले जुद्घ वारुण यन्त्र कार्यालय, भक्तपुरले स्थानीय युवा तथा कर्मचारीलाई तालिम प्रदान गरेको छ ।

कार्यालयका अग्नि नियन्त्रक कर्मचारी र स्थानीय युवाका लागि ग्यास, पेट्रोलियम पदार्थ, भौतिक संरचना एवम् भिन्न प्रकारका केमिकलहरुमा लाग्ने आगो नियन्त्रण र उद्धारका कार्य कसरी गर्ने भन्नेबारेमा एकहप्ते तालिम प्रदान गरेको हो ।

कार्यालयका प्रमुख विजयप्रसाद धौभडेलले आगलागी हुँदा दमकल एवम् सुरक्षाकर्मी भन्नेबित्तिकै पुग्ने अवस्था नरहने अवस्थामा स्थानीयस्तरमा तालिम प्राप्त युवाले अग्नि नियन्त्रण एवम् उद्धारका कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

तालिमको समापन अवसरमा आज सहभागी प्रशिक्षार्थीलाई प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा उनले आर्थिक स्रोत र साधनको अभावका बाबजुद पनि जुद्घ वारुण यन्त्र कार्यालयले तालिम सञ्चालन गरेर उदाहरणीय काम गरेको बताए ।

जिल्ला समन्वय समितिका सचिव धु्रुवप्रसाद कोइरालाले अग्नि नियन्त्रण कार्यबाट समाजमा युवाले छवि र प्रतिष्ठा बढाउन सक्ने बताउँदै मानिसले जीवनभर कमाएको सम्पत्ति र धन निमेषभरमा नष्ट हुनबाट जोगाइदिन सके ठूलो सेवा र धर्म हुने उल्लेख गरे ।

नेपाल उद्धार तथा अग्नि निवारण सङ्घका अध्यक्ष एवम् तालिमका प्रमुख प्रशिक्षक अरुणकुमार आचार्यले अबको हरेक स्थानीय तहमा अग्नि नियन्त्रक चाहिने अवस्थामा तालिम प्राप्त व्यक्तिले त्यहाँ रोजगारीको अवसर प्राप्त गर्न सक्ने बताए ।

तालिम संयोजक मधुसूदन थापाले अग्नि नियन्त्रणका लागि सहरका बस्तीमा छिर्न ठूलाभन्दा पनि साना साधन आवश्यक रहेको बताए।

सहभागी प्रशिक्षार्थीमध्येबाट गोपाल थापा र रेश्मी जोशीले आगलागीको प्रकार तथा क्षति नियन्त्रण एवम् पीडितको उद्घारबारे नयाँ ज्ञान सिकेको बताए।

गत असार १२ गतेदेखि सुरु भएको सो तालिममा सयजना प्रशिक्षार्थीको सहभागिता थियो ।

 


क्लिकमान्डु