फेल भएकालाई मात्रै होइन, कापी नै चेक नगरी पनि लाइसेन्स, प्रमुखसहित १६ जनालाई मुद्दा




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात ब्यवस्था कार्यालय नेपालगन्जका कार्यालय प्रमुख तथा ट्राफिक कार्यालय नेपालगन्जका प्रहरी नायब निरीक्षकसहित १६ जना विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले गरेको अनुसन्धानबाट नेपालगन्ज यातायात कार्यालयबाट चारपांग्रे सबारी साधनको लाइसेन्स वितरणमा अनियमिता भएको पुष्टी भएपछि असार १८ गते (आज) विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट आर्थिक बर्ष २०७३/०७४ मा चारपाङ्ग्रे सवारी साधनको सवारी अनुमतिपत्रको लिखित परीक्षामा भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको भेटिएपछि मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीबराज कोइरालाले जानकारी दिए ।

अख्तियारले मुद्दा दायर गरेका ब्यक्तिहरुको नाम र पद

अख्तियारका अनुसार सो कार्यालयबाट चारपांग्रे सबारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) दिदा अनियमितता भएको भन्दै गत चैत २० गते आयोगमा उजुरी परेको थियो । उजुरीको विषयमा अनुसन्धान गर्दा गत कात्तिक ५,६,७ र ८ गते लिखित परिक्षा सञ्चालनमा अनियमितता भएको पुष्टी भएको हो ।

सो परीक्षामा १२ हजार ६३१ परीक्षार्थी सहभागी भएका थिए भने ९ हजार ४०९ जनालाई लिखितमा पास गराइएको थियो । यसमध्ये प्रयोगात्मक परीक्षामा ४६५ जना परीक्षार्थीहरू पास भएका थिए ।

सो कार्यालयको परीक्षा समितिको गत चैत ७ गते र चैत १२ गते निर्णय गरेर ४६५ परीक्षार्थीहरूलाई चारपांग्रे सबारी साधनको लाइसेन्स दिने निर्णय भएको थियो ।

सो उजुरीको आधारमा अख्तियारले लिखित परीक्षाको उत्तरपुस्तिकामा प्रदान गरिएको अंकको सम्बन्धमा थप अनुसन्धान गर्दा वस्तुगत बहुबैकल्पिक तर्फको प्रश्नमा कम्तिमा ९ वटा प्रश्नको सही उत्तर दिने परीक्षार्थी मात्र लिखित परीक्षामा उत्तिर्ण गराउनु पर्नेमा ९ वटा भन्दा कम सही उत्तर दिने परीक्षार्थीलाई पनि पास गराइएको पाइएको अख्तियारले जानकारी दिएको छ ।

लाइसेन्स पाएका ४६५ जना परीक्षार्थीहरू मध्ये ९० जना लिखित परीक्षामा फेल भएका र ३३ जनाको उत्तरपुस्तिका नै परीक्षण नगरी प्रयोगात्मक परीक्षामा सामेल गराएर लाइसेन्स दिएको अख्तियारले फेला पारेको छ ।

सो कार्यालयले परीक्षाको परिणाममा फेरबदल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कसूर गरेको पुष्टी हुन आएकोले सोही ऐनको सोही दफा बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको अख्तिायारको भनाइ छ ।


क्लिकमान्डु