सिमेन्टमा कर्पोरेट वारः प्रतिस्पर्धाले उपभोक्तालाई फाइदा दिन्छ भन्ने गतिलो उदाहरण




काठमाडौं । गत बिहिबार गज्जबको संयोग देखियो नेपाली विज्ञापन बजारमा । ठूला राष्ट्रिय दैनिक पत्रिकाहरुमा दुई सिमेन्ट ब्राण्डको ज्याकेट विज्ञापन एकै दिन छापियो ।

यसरी विज्ञापन छाप्ने सिमेन्टहरुमा शिवम् र युनाइटेड थिए । र, नयाँ स्कीमा पनि करिब उस्तै थियो । यो संयोग कसरी जुट्यो ? आफैमा कौतुहलको विषय बनेको छ अहिले ।

युनाइटेडको स्कीम ‘बहार छायो, १५ बोरामा १ बोरा एक्ट्रा आयो’ थियो । अर्थात १५ बोरा युनाइटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा पाइने स्कीम युनाइटेडको सार्बजनिक भयो ।

शिवम् सिमेन्टको स्कीमा पनि कम आकर्षक थिएन । प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा एक बोरा सिमेन्ट सित्तैमा पाइने योजना शिवम्ले ल्यायो । शिवम्ले यसअघि नै ५० केजी सिमेन्टकै दाममा ५५ केजीको प्याकेट पाइने र चादीको सिक्का पनि पाइने योजना ल्याइसकेको थियो ।

यो विज्ञापन बारेको बजार हल्ला भने फरक छ । एउटा सिमेन्टले सो दिन सो योजना सार्बजनिक गर्ने तयारी गरेको अर्काे सिमेन्टले जानकारी पायो । अनि अर्काे सिमेन्टले पनि सोही प्रकृतिको योजना सोही दिन सार्बजनिक गर्यो भन्ने हल्ला बजारमा सुन्न पाइन्छ ।

हल्ला जे जस्तो चले पनि उपभोक्तालाई फाइदा भएको छ । अस्वस्थ प्रतिस्पर्धा देखिएको छैन । उपभोक्ताले सस्तो मूल्यमा बस्तु खरिद गर्न पाउनु नै खुल्ला बजार अर्थतन्त्रको आधारभूत विशेषता हो । यो विशेषता बिहिबार देखियो ।

खुल्ला बजार अर्थतन्त्रमा स्वस्थ्य प्रतिस्पर्धाले उपभोक्ता कसरी लाभान्वित हुन सक्छन् भन्ने उदाहरण यो योजनाले दिने विज्ञापन एजेन्सी संघका अध्यक्ष सन्तोष श्रेष्ठ बताउँछन् । अन्य उत्पादनहरुमा एकै प्रकारको स्कीम एकै दिन सार्बजनिक हुने उदाहरण यसअघिका भए पनि सिमेन्टको लागि नयाँ भएको उनको भनाइ छ ।

‘सिमेन्टको खरिदमा सिमेन्ट नै सित्तैमा दिने यो अबधारणा आफैमा नौलो भने छ, तर, दुबै उत्पादनले आफ्ना उपभोक्तालाई सुविधा दिने योजना सार्बजनिक गर्ने सोच बनाएका थिए होलान्, स्कीम सार्बजनिक गर्ने दिन एकै पर्नु संयोग हुन सक्छ,’ अध्यक्ष श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

यो विज्ञापनमा अस्वस्थ प्रतिस्पर्धाको छनक आफूले नपाएको र उभोक्ता तथा संचार उद्योगको लागि सुखद भएको उनको भनाइ छ ।

आफूले सो योजना सार्बजनिक गर्न करिब डेढ महिनादेखि तयारी थालेको युनाइटेड सिमेन्टका ब्राण्ड एण्ड प्रमोसन प्रमुख सुवास खतिवडा बताउँछन् ।

‘हामी हाम्रो प्रतिस्पर्धीलाई लान्छना लगाउन चाहदैनौं, हामीले डेढ महिना अघिदेखि तयारी गरेका थियौं, हाम्रा ग्राहकलाई सुबिधा दिने योजना सार्बजनिक गर्दैथियौं, अर्काे सिमेन्टले पनि हाम्रै जसरी तयारी गरेको थियो होला, यसले उपभोक्तालाई फाइदा पुर्याएको छ, कसैलाई नोक्सानी वा अस्वस्थ प्रतिस्पर्धा भएको छैन,’ खतिवडाले क्लिकमाण्डूसँग भने ।

शिवम् सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर केशब अर्याल आफूहरुको २ बर्ष अगाडिको योजनाकै निरन्तरता बिहिबार देखिएको बताउँछन् । २ बर्ष अगाडिको पुसमा शिवम्ले ५० केजीको सट्टा ५५ केजीको बोरामा सिमेन्ट किन्न पाइने योजना ल्याएको थियो । सोही समयमा ग्राहकलाई थप सुविधा दिने सोच बनेको भएपनि सो समयको नाकाबन्दीको कारण केही ढिलाई भएको अर्यालले बताए ।

‘२ बर्ष अगाडि नै ५० केजीको साटो ५५ केजीको प्याकमा सिमेन्ट उत्पादन थालेका थियौं, त्यो बेला नै निश्चित बोरा तोकेरभन्दा एक बोरा किन्नेले पनि सुबिधा पाउनु पर्छ भन्ने हाम्रो योजना थियो, त्यही योजनाको निरन्तरता स्वरुप बिहिबार हामीले २० बोरा किन्नेले १ बोरा सित्तैमा पाउने योजना सार्बजनिक गरेका हौं, अर्काे सिमेन्टले पनि सोही दिन यस्तै योजना सार्बजनिक गर्नु संयोग होला, उपभोक्तालाई सुविधा दिन हामीले यस्तो योजना ल्याएका हौं,’ शिवम् सिमेन्टका सिनियर ब्रान्ड म्यानेजर अर्यालले क्लिकमाण्डूसँग भने ।

योजनाबद्ध हो भने पनि ठीक छ । संयोग नै भएपनि राम्रो संयोग । उपभोक्ताले सहुलियत पाएका छन् । खुल्ला बजार प्रतिस्पर्धाको विशेषता नै यस्तै हो र हुनुपर्छ । केही बर्ष अगाडि वाइवाइ र मायोज चाउचाउको यस्तै प्रतिस्पर्धा थियो । त्यो प्रतिस्पर्धाले उपभोक्ता र संचार उद्योग सबैलाई फाइदा भएको थियो । प्रकारान्तमा मायोज चाउचाउ कमजोर बन्यो । त्यसपछि कर्पोरेट बजारमा ‘नूडल्स वार’ सकियो । सिमेन्ट उद्योगले अहिले यस्तै प्रतिस्पर्धाको घोषणा गरेको छ । यो प्रतिस्पर्धा उपभोक्तालाई सहुलियत दिनेसँगै ‘सस्टेनेबल’ भने हुनुपर्छ ।


क्लिकमान्डु