सोलार लिफ्टिङ खानेपानीबाट ३६ घरधुरी लाभान्वित



स्याङ्जा । स्याङ्जाको वालिङ–४ माझकोटमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट ३६ घरधुरी लाभान्वित भएका छन् ।

फिनल्याण्ड सरकारको १२ लाख रुपैयाँ, नेपाल सरकारको १२ लाख रुपैयाँ, साबिकको माझकोट शिवालय गाविसको २ लाख ६ हजार रुपैयाँ र बाँकी स्थानीयवासीको जनश्रमदान गरी कुल ३६ लाख ९ हजार रुपैयाँको लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टौबहादुर गुरुङले बताए ।

चालु आर्थिक वर्षको पुसदेखि निर्माण सुरु गरिएको उक्त योजना छ महिनामा निर्माण सम्पन्न भएको हो । गाउँभन्दा मुनि रहेको ८८ मिटर ठाडो तल रहेको टुकी मुहानबाट ७ वटा सोलार प्यानलमार्फत पानी लिफ्ट गरेर घरघरमा खानेपानी वितरण गरिएको हो ।

‘गाउँभन्दा मुनि रहेको टुकी मुहानमा छ हजार लिटरको पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरिएको छ, ’गाउँभन्दा माथि आठ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी पानी सङ्कलन गर्ने गरेका छौं,’ समितिका अध्यक्ष गुरुङले भने ।

पानीको समस्यामा रहेको उक्त बस्तीमा हाल प्रत्येक घरधुरीमा धारा निर्माण गरी दैनिक छ घन्टा पानी वितरण हुँदै आएको छ ।
‘टाउकोमा नाम्लो, पिठ्यूँमा डोको बोकेर एक गाग्री पानीका लागि आधा घन्टाको समय खर्चनु पथ्र्यो’, ‘अहिले घरघरमा पानीको सहजता भएसँगै धेरै राहत भएको छ’ स्थानीयवासी तेलमाया गुरुङले भने ।

खानेपानीको मुहान संरक्षण तथा समय समयमा मर्मत सम्भारका लागि कोष खडा गर्न प्रत्येक धारामा मिटर सिस्टम लागू गरिएको अध्यक्ष गुरुङले बताए । रासस


पुष्प दुलाल