भारतमा सुरु भयो आईफोन उत्पादन, के अब मुल्य सस्तो होला ?




काठमाडौं । एप्पलले भारतमा आईफोन एसईको उत्पादन सुरु गरेको छ । वासिङ्टनमा अमेरिकी व्यावसायिक नेताहरुसँगको भेटघाटका क्रममा एप्पलका प्रमुख कार्यकारी (सीईओ) टिम कुकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा जानकारी गराएको भारतीय संचार माध्यमहरुले जनाएका छन ।

सीईओ कुकले गत महिनादेखि नै बैङ्लोरमा आईफोन एसईको उत्पादन सुरु गरेको सुनाए । गत वर्ष कुकले गरेका घोषणामध्ये भारतमा आईफोन उत्पादन गर्ने एक थियो । अर्को हैदराबादमा एप्पलको म्याकका लागि विकास केन्द्र खोल्ने योजना छ ।

यसले आईओएस, एप्पल टिभी र एप्पल वाचका लागि एप उत्पादन गर्नेछ । स्विफ्टले डेभलपरलाई सुरक्षित रूपमा लेख्न र बढी विश्वसनीय कोडका लागि सक्षम बनाउनेछ । यसले समयको बचत गर्ने र समृद्ध एप अनुभवको सिर्जना गर्नेछ ।

एप्पलको हैदरावाद केन्द्रले म्याकको विकासमा सुधार ल्याउने र ४ हजार रोजगारीको सिर्जना गर्ने भएको छ । सफ्टवेयरको क्षेत्रमा कुकले मोदीलाई ७ लाख ४० हजार एप अर्थतन्त्रको रोजगारीको योगदान गर्ने बताए । भरतीय एप डेभलपरले एप्पलको एप स्टोरमा झन्डै १ लाख एप्सको सिर्जना गरेका छन् । यो गत वर्षको तुलनामा ५७ प्रतिशतको वृद्धि हो ।

एप्पलले यो वर्षको अन्त्यदेखि पूर्ण रुपमा नवीकरणीय ऊर्जाको व्यवसायको पनि थालनी गर्ने जनाइसकेको छ । एप्पलले भारतमा आफ्नो व्यवसायका लागि मार्ग निर्माणको तयारी गरिरहेको छ ।

भारत विश्वकै तीव्र वृद्धिको स्मार्टफोन बजार हो, जसमा एप्पलको हिस्सा थोरै मात्र छ । कम्पनीले भारतमा ३० हजार भारुभन्दा माथिका आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । यो वृत्तमा एप्पल बजारको नेतृत्व गर्दै आएको सामसङ इलेक्ट्रोनिक्सपछि दोस्रो स्थानम रहँदै आएको छ ।

अमेरिकी र चिनियाँ बजारको वृद्धि ओरालो लागेपछि एप्पलले भारतीय बजारमा जोड दिँदै आएको छ । कम्पनीले भारतमा आफ्नै खुद्रा बिक्रीको स्टोर खोल्ने इच्छा पनि व्यक्त गर्दै आएको छ ।

कम्पनीको भारत निर्मित फोन गत महिनादेखि बजारमा आउन थालेको थियो । कुल अमेरिकी व्यवसायीको बैठकमा बस्ने उच्च पदाधिकारीमध्येका हुन् । उनीसँग उक्त बैठकमा गुगलका सुन्दर पिचाई, माइक्रोसफ्टका सत्या नाडेला र अमेजनका जेफ बेजोस पनि छन् ।


क्लिकमान्डु