दोस्रो चरणको निर्वाचन: ६४ लाख मतदाताले १५ हजार प्रतिनिधि छान्दै




काठमाडौं । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । छाता ओडेर मतदाताहरु मतदानको लागि लाइनमा बसेका छन ।

७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा यसअघि वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने भएको छ ।

पहिलो चरणझैँ यसपटक पनि गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित, महिला वडा सदस्य पदका लागि निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुनेछ ।

तीन प्रदेशका स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वा्चित हुनेछन्। चार हजार ५ सय ८१ मतदानस्थलका आठ हजार ३ सय ६८ मतदान केन्द्रमा मतदान हुँदैछ । स्थानीय तहको नेतृत्व गर्ने स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जिम्मेवारी निर्वाह गर्ने जनप्रतिनिधिको चयन गर्नेछ ।

दोस्रो चरणको निर्वाचनमा ६२ हजार ४ सय ८ उम्मेदवार प्रतिस्पर्धामा छन । निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध भइसकेका छन् । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता मतदानमा सहभागी हुने भएका छन् । ती मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् । मतदान कार्यमा ६६ हजार नौ सय कर्मचारी र सुरक्षाकर्मी एक लाख ६० हजारभन्दा बढी खटिएका छन् ।

आयोगले स्थानीय निर्वाचनका लागि जारी गरेको मतदाता परिचयपत्र हराए वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र र सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ ।


क्लिकमान्डु