स्थानीय निर्वाचन पर्यवेक्षणका लागि दुई सय बीस पर्यवेक्षक खटिए



इलाम । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा २२० पर्यवेक्षक खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि २६ वटा संस्थाले अनुमति लिएका छन् । अनुमति लिएका संस्थामार्फत पर्यवेक्षक निर्वाचनमा खटिएका हुन् ।

निर्वाचन पर्यवेक्षण गर्नका लागि धेरै संस्थाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये पाँच संस्थाले जिल्लामा एक÷एकजनाका दरले मात्रै पर्यवेक्षक खटाएका छन् । निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि पर्यवेक्षक परिचालन गरिन्छ ।

राष्ट्रिय युवा महासङ्घ, नेफिनले आठ जना, बहिर्गमित पूर्वलडाकु नेपालले २६ जना, सङ्कल्प शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले २३ जना, नेपाल मानवअधिकार सङ्गठनलले ३१ जना तथा प्रजातान्त्रिक विचार समाजले नौजना पर्यवेक्षक परिचालन गरेको बताइएको छ ।

निर्वाचनको तयारी पूरा

बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । चार नगरपालिका र छ गाउँपालिकामा एक लाख ८९ हजार २७४ मतदाता रहेका छन् । जिल्लाका १४४ मतदानस्थलका २४९ मतदान केन्द्रमा दुई हजार २५५ कर्मचारी निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।

निर्वाचन सुरक्षाका लागि एक हजार ८०० नेपाल प्रहरी, ४०० सशस्त्र प्रहरी र ६०० नेपाली सेना परिचालन गरिएको छ ।

 


क्लिकमान्डु