तीन करोड रुपैयाँको लगानीमा बहुउद्देश्यीय होटल, प्राङ्गारिक फलफूल तथा तरकारी खुवाइने
पोखरा। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा तीन करोड रुपैयाँको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
होटल तथा रेष्टुरेन्ट सञ्चालनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपक पौडेल शर्माले आर्थिकरुपमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ आफूले होटलमा लगानी गरेको बताए ।
‘तत्कालका लागि रिदम फ्रेस हाउस, प्रतिभा टुर्स एण्ड ट्राभल्स, सुविधायुक्त लज र सभाहल सञ्चालनमा ल्याइएको छ,केही दिनमा नै दोहोरी साँझ सञ्चालनमा ल्याउने तयारी गरेका छौँ,’ उनले भने ।
रेष्टुरेन्टमा आफ्नै फ्रेस हाउस भएकाले अतिथिलाई लोकल मासु खुवाउन सकिने बताउँदै उनले पर्वतको कार्कीनेटासहित कास्कीको भरतपोखरी, कृष्टिलगायत ठाउँबाट प्राङ्गारिक फलफूल तथा तरकारी ल्याएर खुवाइने बताए ।
होटलमा १५० जना क्षमताको सभाहल र २५ जना क्षमताको विशिष्ट बैठक कक्षसमेत रहेको छ । त्यस्तै, होटलमा छ डिलक्ससहित सातवटा कोठा रहेकाछन् । एउटा कोठाको न्यूनतम ८०० रुपैयाँदेखि दुई हजारसम्म शुल्क निर्धारण गरिएको अध्यक्ष करिष्मा बरालले जानकारी दिर्इन।
अठ्ठाइस जनालाई रोजगारी प्रदान गरिने होटल तथा रेष्टुरेन्टमा साँझमा मनोरञ्जन र जमघटका लागि रिदम दोहोरी एवम् मेलोडी साँझ समेत केहिदिन भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।