असार १६ गतेदेखि खाना पकाउने ग्याँसको आयात ठप्प पार्ने व्यवसायीको चेतावनी



काठमाडौं । ग्यास व्यवसायीहरुको छाता संगठन नेपाल एलपि ग्यास उद्योग संघले यही असार १६ गतेदेखि ग्यास आपूर्ति ठप्प पार्ने चेतावनी दिएको छ । संघले राखेका १७ बुँदे माग सरकारले तत्काल पूरा नगरे ग्यास आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो ।

नेपाल आयल निगमले एक वर्षअघि नै ७ सय ७५ वटा ग्यास बुलेट सञ्चालन गर्न नेपाली ग्यास उद्योगीलाई अनुमति दिए पनि हालसम्म ४ सय बुलेट मात्रै तयार भएको र बुटेल सञ्चालनका लागि भारतीय एक्सप्लोसिभ प्रमाणपत्र प्राप्त हुन नसक्दा करिब ९ महिनादेखि भारतमा थन्किएर बसेको संघले जनाएको छ ।

त्यसैगरी, नेपाल भित्रिएका केही बुलेटहरु सञ्चालन हुन नसकी ७ महिनादेखि थन्किएर बसेको र यी दुबैमा उद्योगीहरुले गरेको ८ अर्ब लगानी अलपत्र परेको जिकीर गर्दै संघले सरकारलाई चेतावनी दिएको हो ।

सरकार र नेपाल आयल निगम को नीतिअनुरुप नेपाली ग्यास उद्योगहरुले ग्यास ढुवानीका लागि नेपाली नम्बरका बुटेट आयात र निर्माण प्रक्रिया हुन गएका कारण नोभेम्बरपछि भारतीय ग्यास ढुवानी कम्पनीबाट ग्यास ढुवानी नगर्ने सहमति भइसकेको संघले जनाएको छ ।


पुष्प दुलाल