कामदारको उत्पादकत्व घोटिएर होइन, आराम गरेर बढ्छ




अमेरिकाको पोर्टल्याण्डमा बसेर काम गर्ने लिसा कोङडोनको दैनिकी १० बर्षसम्म निकै ब्यस्त रह्यो । कलाकार र लेखकसमेत रहेकी कोङडोन एकै समयमा ५ देखि २० वटासम्म काममा अल्झिरहेकी हुन्थिन् । उनी आफ्नो दैनिक कार्यतालिका सकेसम्म खुम्च्याउँथिन् ।

अन्ततः काम शुरु गरेको दशौं बर्षमा उनलाई ढाड दुख्ने, घाँटीको माथिल्लो भाग दुख्ने टाउको दुख्ने जस्ता रोगहरु देखा पर्न थाले ।

‘म निकै तनावसहित उठ्थें, पेटमा समस्या महशुस हुन्थ्यो, र निद्रा राम्रो पर्दैनथ्यो,’ उनी भन्छिन् ।

हामीमध्ये धेरैलाई आफ्नो सबै काम गर्न दिनमा समय नै नभएको महशुस हुने गर्छ । केही मिनेटमा सकिने कामका लागि घन्टौं लाग्ने गर्छ । अनि अन्य कामहरु पनि थपिदैं जान्छन् ।

धेरैका लागि यो समस्याको समाधान भनेको राती अबेरसम्म काम गनुर्् वा सप्ताहन्तमा समेत काम गर्नु हुन्छ । यसले धेरैलाई तनावग्रस्त र हतास बनाउँछ । तर, कम समय काम गर्नु नै धेरै कामहरु सल्ट्याउने अचुक उपाय रहेछ भने ?

समय ब्यवस्थापन गर्ने भ्रम
पहिले कोङडोन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म बिना आराम काम गर्थिन् ।

यो जालमा पर्न निकै सजिलो छ— हामीलाई बारम्बार भनिएको हुन्छ कि ८ घण्टा ‘मज्जा’ले काम गरे हाकिमहरु र सहकर्मीहरुको मन जित्न सकिन्छ । तर, वास्तवमा परम्परागत रुपमा चलिआएको ९ देखि ५ बजेसम्मको कार्यालय समय उत्पादकत्व बढाउन त्यति अनुकुल छैन ।

कार्यालयहरुमा गरिएको अध्ययनका अनुसार औसतमा एक ब्यवसायिक कामदारले कार्यालय समयमा दैनिक ८७ वटा अवरोधहरुको सामना गर्नुपर्छ, जसले उसको एकाग्रता भंग गर्नुका साथै उत्पादकत्व घटाउँछ ।

केही गर्नैपर्ने महशुस गरी कोङडोनले आफ्नो कामप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउने प्रयास गरिन् । र, आफ्नो दिनको पूर्नसंरचना गर्न थालिन् । उनले पहिलेको जस्तै उत्पादकत्व कायम राख्ने प्रयास गरिन, तर घडिको सुइका हिसाबले काम गरेर होइन । उनले आफ्नो दिनलाई ४५—४५ मिनेटका केही ‘सेग्मेन्ट’मा बाँडिन् । र, यही ‘सेग्मेन्ट’हरुमा आफ्नो उत्पादकत्व सकेसम्म बढाउने लक्ष्य राखिन् ।

उनले आफ्नो उर्जा र एकाग्रतालाई स—साना ‘सेग्मेन्ट’मा बाँढेर कायम राख्नु भनेको बाँकी समयमा कसरत, ध्यान र अन्य कामका लागि छुट्याउनु थियो । कार्यालय समयमा आराम गर्दा तनाव कम हुनुको साथै कामको नतिजा पनि राम्रो आएको कोङडोनले महशुस गरिन् ।

कोङडोनको महशुस अध्ययनहरुका निश्कर्षसँग मेल खान्छन् । अध्ययनहरुले कामको लामो समय भन्दा पनि कामको समयमा पाउने आरामले उत्पादकत्व बढाउन महत्वपूर्ण भुमिका खेल्ने निश्कर्ष निकालेका छन् ।

सन् २०१४ मा ड्राउजियम ग्रुप नामको एक सामाजिक सञ्जाल कम्पनीले कस्तो बानीले कामदारहरुको उत्पादकत्वमा फरकपन ल्याउँछ भनेर अध्ययन गर्न ‘टाइम ट्र¥याकिङ प्रोडक्टिभिटि एप’ को प्रयोग गरेको थियो ।

नतिजा सबैलाई अचम्मित पार्ने आएको थियो । उच्च उत्पादकत्व भएका १० प्रतिशत कर्मचारीहरुको काम गर्ने समय अन्य कर्मचारीको भन्दा छोटो थियो । उनीहरु दैनिक ८ घण्टा पनि काम गर्दैनथे । उनीहरु ५२ मिनेट खटेर काम गर्दा १७ मिनेटसम्म आराम गर्थे ।

सन् १९५१ मा ‘इलिनोइस इन्सटिच्युट अफ टेक्नोलोजी’ का रेमोन्ड जेल्सट् र विलार्ड केरले गरेको एक अध्ययनले कार्यस्थलमा हप्ताको २५ घण्टा भन्दा बढि काम गर्ने बैज्ञानिकहरुको उत्पादकत्व हप्तामा ५ घण्टा मात्र काम गर्ने बैज्ञानिकहरुकोभन्दा कम भएको तथ्य बाहिर ल्याएको थियो ।

वास्तवमा एकाग्र भएर १ देखि तीन घण्टाको काम परम्परागत कार्यदिन भन्दा बढि उत्पादक हुन्छ ।

ब्यस्त रहनु नै उत्पादक हुनु हो भन्ने परम्परागत सोच कार्यालयहरुमा हावी रहेको ‘डिप वर्क’का लेखक काल निउर्पोट बताउँछन् ।

‘स्पष्ट सूचकहरुको अभावमा उत्पादक हुनु र आफू जिम्मेवारीको लागि उपयुक्त पात्र हुनु भनेको सबैले देख्ने गरी धेरै काम गर्नु हो भन्ने सोच्छन्, अधिकांश कामदारहरु,’ निउर्पोट भन्छन् ।

देखाउन काम गर्नुको पनि खासै अर्थ छैन । बोस्टन बिश्वबिद्यालयले गरेको एक अध्ययनले ब्यवस्थापकहरुले कुन कामदारले साँच्चै हप्ताको ८० घण्टा काम ग¥यो र कसले काम गरेको नाटक ग¥यो भने खुट्याउन नसक्ने निश्कर्ष निकालेको छ ।

ब्यस्त रहन धेरै प्रयास गर्नुभन्दा ‘डिप वर्क’ गरेर कुनै अवरोध बिना एकाग्र भएर छोटो समय काम गर्ने बानी बिकास गर्नु उपयुक्त हुने निउर्पोटको सुझाव छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु