बन्द भएको गोरखाली टायर व्यूँताउने गोर्खाली मेयरको सपना



काठमाडौं । नेपालको एकमात्र टायर उद्योग गोरखकाली रबर उद्योग २०७२ फागुनदेखि पूर्णरुपमा बन्द छ ।

वर्षमा ५ अर्ब रुपैयाँभन्दा बढी रकमको टायर कारोबार नेपालमा हुन्छ । तर, नेपालमा टायर सबै विदेशबाट आउने गर्छ ।

२०४१ सालमा स्थापना भएको गोरखकाली टायर नेपालको कुनैबेलाको लोकप्रिय ब्राण्ड हो । नेपालमा टेलिभिजन लोकप्रिताको शिखर चढ्दै गर्दा नायिका कृष्टी मैनालीले खेलेको गोरखकाली टायरको विज्ञापन त्यतिबेला निकै लोकप्रिय थियो ।

बजारको राम्रो सम्भावना भएको र एउटा मात्र टायर कम्पनी नेपालमा चल्न सकेन । गोरखकाली रबर उद्योग चल्न नसक्नुले सरकारी लगानीमा स्थापना भएका उद्योग चल्न सक्दैनन् भन्ने उदाहरणलाई पुष्टी गरिदियो ।

बन्द भएको २ वर्षपछि पुनः गोरखकाली रबर उद्योगलाई चलाउने तयारी सुरु भएको छ । निवर्तमान उद्योगमन्त्री नविन्द्रराज जोशीले बन्द भएका उद्योगहरु चलाउने घोषणा अनुसार सरकारी लगानीको औषधी कम्पनी चलाउन सफल भए ।

तर, गोरखकाली रबर उद्योग चलाउने तयारी भएपनि उनको कार्यकाल सकियो उनका योजना भने मन्त्रालयमा छन् ।

२०७२ सालको फागुनदेखि उद्योग पूर्ण रुपमा बन्द भएपनि उद्योगमा कार्यरत २ सय ३८ जना कर्मचारीको दायित्व सरकारको काधमा छ । कर्मचारीले काम नगरेपनि सरकारले जसरीपनि कर्मचारीको दायित्व वापत तलब दिनुपर्छ ।

गोरखकाली रबर उद्योग चलाउने सपना अहिले गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले देखेका छन् । गोरखा नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि पन्तले गोरखकाली उद्योगलाई चलाउने आफ्नो पहिलो प्राथमिकता हुने घोषणा गरे ।

गोरखा नगरपालिकाका प्रमुख पन्तले गोरखकाली रबर उद्योग गोरखासँगै देशको पनि प्रतिष्ठासँग जोडिएको हुँदा उद्योग चलाउनुपर्ने बताउँछन् ।

‘उद्योग चलाउने केही योजनाहरु रहेका छन्’, पन्तले क्लिकमाण्डूसँग भने, ‘निवर्तमान उद्योगमन्त्रीसँग उद्योग चलाउने बारेमा केही कुरा भएको थियो,सरकार परिवर्तनपछि अहिलेलाई रोकिएको छ।’

सरकारी लगानीमा खोलिएको गोरखकाली रबर उद्योग जनताबाट उठाएको रकम डुबाउने कम्पनीमा पर्छ । कुनैबेला भारत र बंगलादेशसम्म टायर निर्यात गर्न सक्ने कम्पनी अहिले धरासायी भएको छ ।

गोखरकालीले जनतालाई सेयर जारी गरेको थियो । यद्यपी कम्पनीमा धेरै लगानी सरकारको छ ।

गोरखा नगरपालिकाका प्रमुख पन्त नगरपालिकाको रोहबरमा वा निजी क्षेत्रलाई लिजमा दिएर उद्योग चलाउन सकिने बताउँछन् ।

‘अहिले भएका कर्मचारीलाई दिनुपर्ने दायित्व रकम नै करिब एक अर्ब रुपैयाँजति छ’, उनले थपे, ‘केन्द्र सरकारबाट कर्मचारीको दायित्व पुरा भएमा उद्योगलाई चलाउन सकिन्छ ।’

गोरखाका नगरपालिका प्रमुख पन्तको योजना अहिलेका कर्मचारी सबैलाई अवकास दिने र नयाँ तरिकाले उद्योग चलाउने रहेको छ ।

उद्योगमा भएका मेसिनपनि मर्मत गरेमा चल्ने भएको हुँदा उद्योग चलाउनको लागि कुनै समस्या नपर्ने पन्तले सुनाए ।

१० अर्बको बजार सम्भावना

नेपालमा मध्यम वर्गको उदयसँगै गाडी चढ्नेहरु बढेका छन् । काठमाडौं बाहिरपनि सहरीकरणको विस्तारसँगै गाडी किन्नेको संख्या काठमाडौं र काठमाडौं बाहिर लगभग बराबरजस्तो हुन थालेको छ ।
गाडीको कारोबार बढेसँगै टायरको व्यापार स्वभाविक रुपले बढ्छ ।

बैशाख महिनासम्म गाडी तथा त्यसमा लाग्ने पार्टपुर्जा मात्र ६८ अर्ब ४६ करोडको आयात भएको थियो । यस्तै टायर भने ६ अर्ब रुपैयाँको आयात भएको छ ।

यस आधारले हेर्दा वर्षको १० अर्बभन्दा बढीको कारोबार टायरको मात्र हुने देखिन्छ ।

नेपालमा अहिले भारतदेखि ब्राजिलसम्ममा निर्माण भएका टायरहरु आउने गर्छ । मुख्यरुपमा भारतीय कम्पनीको टायरको बजार हिस्सा नेपालमा बढी रहेको छ ।


क्लिकमान्डु