बैतडीमा ३१ वटा मतदानस्थल संवेदनशील



बैतडी । बैतडीमा ३१ वटा मतदानस्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा रहेका १२० मतदानस्थलमध्ये ३१ स्थल संवेदनशील रहेको जनाइएको छ ।

चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले अति विकट, खुल्ला सीमाका कारण हुनसक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गीकरण गरिएको बताए । सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लामा अति संवेदनशील मतदान केन्द्र नरहेको बताइएको छ ।

बैतडीमा १२० मतदानस्थल एवम् १७४ मतदान केन्द्र तय गरिएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा एकलाख २४ हजार ८२४ जना मतदाता रहेका छन् ।

मदिरा सेवन तथा बेचबिखनमा रोक

यसैबीच, स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै बैतडीमा मदिरा सेवन तथा बेचबिखनमा रोक लगाइने भएको छ ।

जिल्लामा मदिराले विकृति विसङ्गीत बढ्दै गएकाले असार ५ गतेदेखि मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि असार ५ गतेदेखि २० गतेसम्म जिल्लामा मदिरा विक्री वितरणमा पूर्णतया बन्देज लगाउने पौडेलले बताए । जिल्लामा अधिकांश झैझगडा र अपराधजन्य घटना मदिरा सेवनबाट हुने गरेकाले मदिरा विक्री वितरणमा रोक लगाइएको बताइएको छ ।

मदिरा सेवनले चुनावमा असर पर्ने बताउँदै प्रजिअ पौडेलले चुनावलाई धाँधलीरहितरुपमा सम्पन्न गर्नका लागि राजनीतिक दलले पनि साथ दिनुपर्ने बताए ।

असार ५ गतेदेखि जिल्लाभर मदिरा बेचबिखन र सेवन गर्न नपाइने भएकाले कसैले मदिरा बेचबिखन गरे कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


क्लिकमान्डु