अख्तियारले चूडामणि तानेपछि अर्थसमिति सक्रिय



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फस्र्योटको मुद्दामा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई प्रक्राउ गरेपछि अर्थसमितिले कर फस्र्योटको विषयमा बैठक गरेको छ ।

समितिले विहीवार कर अनियमिताको बारेमा बोलाएको बैठक कर फस्र्योट आयोगको विषयमा थियो । अख्तियारले शर्मालाई प्रक्राउ गरेको छ भने अदालतबाट अख्तियारको हिरासतमा राखेर अनुसन्धान गर्नको लागि म्याद थप भएको छ । अदालतमा पुगेको विषयमा संसद्मा छलफल गर्न पाइदैन ।

एमाले सांसद् प्रकाश ज्वाला सभापति रहेको अर्थसमितिले अख्तियारले आयोगको निर्णयको फाइल लगेपछि छलफल चलाएको हो । ‘निर्वाचनको कारण कर फस्र्योटको विषय छलफल गर्न पाइएन’,ज्वालाले भने ।

यद्यपी अर्थसमितिले निर्वाचनको समयमा पनि अन्य विषयमा छलफल गरेको थियो ।

समितिको बैठकले फछर्यौट आयोग ऐन, २०३३ लाई समयानुकूल बनाउन तत्काल संशोधन प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर छुट र कर असूलीमा भएको अनियमतता सम्बन्धमा भइरहेको अनुसन्धानबाट देखिएका दोषी व्यक्तिहरु तथा संघ संस्थाहरुलाई कडाभन्दा कडा कारवाही गर्न र राजस्व छली भएको रकम तत्काल असूल उपर गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यस्तै नेपालको कर क्षमताको अध्ययन गरी कर क्षमता पत्ता लगाउन, कर प्रणालीमा रहेको कर निर्धारण, कर असूली, कर फछर्यौटलाई समयानुकूल सुधार गर्न यथाशीघ्र कार्य अगाडी बढाउन निर्देशन दिएको छ ।

बैठकमा बोल्ले सांसद्हरुले कर फस्र्योट ऐनलाई परिवर्तन गर्न माग गरेका थिए ।


क्लिकमान्डु