गाई किन्ने हो ? २ सय रुपैयाँमै बेच्छ काठमाडौं महानगरले



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आगमनमा अवरोध पुर्याउने पशुहरु बिक्री गरेर ८० हजार रुपैयाँ कमाएको छ ।

महानगरले ५ सय ३१ पशुको लिलामीबाट आर्थिक वर्ष २०७३/७४ बैशाख मसान्तसम्म ८० हजार रुपैयाँ आम्दानी गरेको छ ।

गत आर्थिक वर्ष २०७२/७३ मा महानगरपालिकाले ५ सय १३ पशुको लिलामीबाट १ लाख ५० हजार ६ सय रुपैयाँ कमाएको थियो ।

‘सडकमा सवारी साधन आगमनमा अवरोध गरेको सुचनाका आधारमा हामीले सडकबाट पशु उठाउने गरेका छौं, सडकबाट उठाएका पशुलाई प्रतिगोटा न्युनतम २ सय रुपैयाँमा लिलामीमार्फत् बिक्री गरिन्छ,’ महानगरका असई लिला गाठाँले क्लिकमाण्डूसँग भने ।

महानगरपालिका आसपासका बासिन्दाले दुध दिन नसक्ने गाई, गाईको बाछो, बहर छोड्ने भएकाले सडकमा छाडा पशुहरु देखिने गरेको गाँठा बताउँछन् ।

‘महानगरपालिकाले सडकबाट नियन्त्रमा लिएका पशुहरु राख्नका लागि व्यवस्थित कान्जी हाउन छैन, साथै, पशु पाल्नका लागि खर्च पनि लाग्ने हुनाले नियन्त्रमा लिएको एक/दुई भित्रमा लिलामीमा बेच्नु पर्ने हुन्छ,’ गाँठाले भने- ‘लिलामीमा बिक्री गर्न सकिएन भने सित्तैमा गाउँका किसानलाई दिनु पर्ने हुन्छ, त्यसका लागि महानगरपालिकाको फेरी छुट्टै खर्च हुन जान्छ ।’

महानगरपालिकाले सडकमा सवारी साधन अवरोध गर्ने पशुलाई हप्ताको एक दिन वा सडकमा धेरै पशु देखिएको सूचना आएमा २ पटकसम्म नियन्त्रणका लागि कर्मजारी खटाउने गरिएको महानगरपालिका प्रहरी नायव उपरीक्षक (डिएस्पी) विष्णु जोशीले बताए ।


पुष्प दुलाल