नेपालसँग जोडिन नसकेको गाँउका बासिन्दा भन्छन्, मेचीमा पुल जस्ले बनाउँछ भोट उसैलाई



काँकडभिट्टा । मेचीनगरकै दुर्गम गाउँ मानिएको मेचीपारिको टापुमा रहेको ज्यामिरगढीका झाडु, ग्लावा र होपना गाँउका जनता स्थानीय तहको चुनावबारे अझै बेखबर छन् ।

ज्यामिरगढीको यी तीन बस्तीलाई पूर्वतिर भारतीय बाँध र पश्चिमतिर मेची नदीले घेरेको छ । बगर र बाँधले घेरिएको मेची पारिको यो चर्चित टापुमा करिब ५० परिवारको बसोवास छ । उपेक्षित बस्ती हुनुको पीडा भोगिरहेका यहाँका बासिन्दाले यसपाली भोट माग्न आउने नेताहरुसंग एउटै प्रश्न सोध्ने भएका छन्–‘कहिले बनाउँछौ झोलुङ्गे पुल ?’

जिल्लाका सबै गाउँबस्तीमा चुनावी लहर चलिरहँदा सो गाउँको बस्तीमा मोटर बाटो नपुग्ने भएका कारण अहिलेसम्म कुनैपनि राजनीतिक दलका नेताले भोट माग्न नआएका कारण सुनसान भएको त्यहाँका बासिन्दा बताउँछन् ।

नेपालसँग जोड्न यहाँ न सडक, न पुल, न बिजुली, नत सञ्चार सुविधा नै उपलब्ध गराएका छन् ।

स्थानीय नरेन्द्र यादवले भोट माग्न आउने उम्मेदवारसँग मेची खोलामा झोलुङ्गे पुल, खेतमा बाह्रैमास पानी लगाउने पैनी र तीन बस्तीलाई जोड्ने सडक बनाउन सर्त अघि बढाउने बताए।

उनका अनुसार मेची नदीमा पुल नहुँदा बर्खामा तीन महिनासम्म नेपाली बजार र गाउँतिर आवतजावत गर्न नसकिने समस्या छ, त्यही कारण यहाँका बालबालिका स्कुल पढ्न पनि भारततिरै धाउनु परेको छ ।

होपना बस्तीका ८४ वर्षीय सुपल बास्केले चुनाव आउँदा आश्वासन दिने र जितेपछि फर्केर एकपटक पनि नआउने नेताप्रति गुनासो गरे । उनले यसपाली भोट माग्न आउने नेताले पुल बनाउने प्रतिबद्धता नगरेसम्म भोट नदिने बताए । आक्रोषित बास्केले भन्छन् ‘हामी त भोट दिन्छौँ नि, तर नेताले हामीहरुलाईं केही दिन सकेनन् ।’

मेचीपारिका अधिकांश गाउँका बासिन्दाले अझै पनि साँझ परेपछि मट्टितेलको सहारामा कुपिले उज्यालो छर्ने गरेको छन् ।

गाउँकी एक्ली उम्मेदवार

मेचीपारिको गाउँबाट मरियम मुुर्मुलाई महिला कोटा सदस्यमा माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । करिब १०० मतदाता भएको यो स्थानमा उनी मुर्मु गाउँको एक्लो उम्मेदवार हुन् । मुर्मुलेले चुनाव जितेपछि सबैभन्दा पहिला मेची नदीमा पुल बनाउने स्थानीय जनतासँग बाचा गरेकी छिन् ।

मतदाता शिक्षा

मेचीपारिका अधिकांशलाई मत हाल्ने तरिकासम्म थाहा छैन । निर्वाचन आयोगले बदर मत सङ्ख्या न्यूनीकरणका लागि चलाएको मतदाता शिक्षाबाट समेत यहाँका बासिन्दा वञ्चित छन् । स्थानीय ४५ वर्षीय आरुती यादवले मतदान गर्ने तरिका सिकाउन कोही पनि नआएको बताइन् । उनले भनिन् भोट हाल्नुपर्ने कुरा सुनेको छु तर कसरी दिने थाहा छैन ।

जिल्ला निर्वाचन आयोगका प्रमुख गोपालप्रसाद आचार्यले भने जिल्लाभर मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ तर कतै कहीँ छुटेको रहेछ भने अनुगमन गरी त्यस्ता स्थानमा पनि तुरुन्त पुर्याउँछौं ।


क्लिकमान्डु