जर्मनीमा यस बर्ष पाँच लाख रोजगारी थप्नु पर्ने



बर्लिन  । जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीले सोमबार सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदन अनुसार जर्मनीमा सन् २०१७ भरीमा पाँच लाख रोजगारी थप्नु पर्ने भएको छ ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष स्वास्थ्य क्षेत्रमा मात्रै एक लाख ३० हजार रोजगारी थपिने छ । बुढाबुढीहरुको संख्या बढ्दै गएकाले उनीहरुको हेरचाहका लागि स्वास्थ्य क्षेत्रका जनशक्तिको आवश्यकता बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी खाद्य सेवा, विज्ञापन एजेन्सी, अनुसन्धान फर्म लगायतका कार्यालयहरुले झण्डै एक लाख ३० हजार रोजगारी सृजना गर्ने अनुमान गरिएको छ ।

सर्वेक्षण गरेको संस्थाका निर्देशक मार्टिन वान्सलेबेनले त्यस बाहेक अन्य १ लाख पद व्यापारिक क्षेत्र, यातायात क्षेत्र र पर्यटन क्षेत्रबाट सृजना हुने बताउनु भयो । उहाँले शिक्षा क्षेत्रले झण्डै ५० हजार जनालाई रोजगारी दिने विश्वास व्यक्त गर्नुभयो ।

‘डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम र शरणार्थीहरुलाई योग्यता बढाईदिने कार्यको अत्यधिक धेरै माग भएकाले शिक्षा क्षेत्र नाफाका दृष्टिकोणले आकर्षक क्षेत्र भएको छ,’ उनले भने ।

अपेक्षित रोजगारीका लागि निर्माण उद्योगबाट ३५ हजार पद थपिन सक्ने छ । न्युन व्याजदर र घर निर्माण कार्य बढ्दै गएकाले यस क्षेत्रमा पनि रोजगारी बढ्न सक्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा


क्लिकमान्डु