१० महिनामा एक हजार आठ सय उद्योग दर्ता



काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा एक हजार ८ सय १९ उद्योग दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको १० महिनामा उक्त सङ्ख्यामा उद्योग दर्ता भएको हो । उत्पादनमूलक २ सय ७५, सेवामूलक ८ सय ५९, पर्यटन सम्बन्धी ६ सय १६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयकी प्रवक्ता इन्दिरा गौतम (खनाल)ले जानकारी दिइन् ।

विसं २०७३ साउनमा ३ सय ५३, भदौमा ३ सय ५१, असोजमा १ सय ७२, कात्तिकमा १ सय ५७, मङ्सिरमा १ सय ६९, पुसमा १ सय ४४, माघमा १ सय ३९, फागुनमा १ सय ६०, चैतमा ८७ र २०७४ वैशाखमा ८७ उद्योग दर्ता भएको छ ।

‘देशमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको हो, संविधान निर्माणसँगै देशमा लगानीको वातावरण बनेकाले उद्योग दर्ता गर्ने क्रम बढेको हो, उनले भनिन् ।

सरकारले १० करोड रुपैयाँभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रुपमा वर्गीकरण गरेको छ । उक्त उद्योग साना तथा घरेलु उद्योग विभाग र समितिअन्तर्गतका जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ । रासस


पुष्प दुलाल